भरतपुर, १५ असार ।
‘मानो रोपी मुरी फलाउने दिन’ को अवसरमा समाजका प्रबुद्ध र नागरिक अगुवाहरू त्यस्तैखाले सांस्कृतिक पर्वको विशेषता बोकेको दहिच्युरा खाने दिनको तयारीमा थिए । सोही क्रममा एकै उमेर समूहका साना बालबालिकाहरू लामबद्ध भएर आइपुग्दा वडाध्यक्ष श्रीकृष्ण पौडेल कौतुहल हुँदै केही बुझ्न खोज्दै थिए । हातमा दहीच्युराको प्लेट लिएर अन्य सहभागी पनि सँगै थिए ।
बालबालिकाहरूले गरेर सिक्ने परियोजना सिकाई अन्तर्गत विद्यार्थीहरूको आगमन भएको स्काउट समूहको नेतृत्व गरी आएका शिक्षक मिलन पनेरूले वडाध्यक्ष पौडेललाई कार्यक्रमको विवरण बताएपछि केही विद्यार्थी खेतको छेउछाउमा र केही विद्यार्थी खेतभित्र पसे ।
यो दृश्य थियोे भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित फूलबारीको । प्रसङ्ग थियोे राष्ट्रिय धान दिवस २०८१ कार्यक्रमको । अनि सहभागी हुन आएका थिए अर्किड मावि भरतपुर १० का विद्यार्थीहरू ।
राष्ट्रिय धान दिवस र यस वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ को गाम्भीर्यतालाई बुझाउन वार्षिक शृङ्खलाबद्ध कार्यक्रमको यो वर्षको संस्करण आयोजना गरिएको शिक्षक कविता पौडेलले बताइन् । किसानको मिहिनेतको स्थलगत अनुभव, खेतमा परिश्रम गर्ने समूहमा हुने कार्य र समन्वय, थकाइ र कामको बोझ कम गर्न गाइने गीत, हिलो र यसमा हुने खेलको प्रत्यक्ष अनुभवसँग साक्षत्कार गराउँदै लान उद्देश्यले विद्यार्थीहरुलाई खेतमा ल्याइएको उनले बताइन् ।
विद्यार्थीहरुको नयाँ कुरा जान्नेबुझ्ने उत्साहलाई यथोचित सहयोग गर्न स्वःस्फूर्त मन लागेको स्थानीय विकलबाबु खनाले बताए । कार्यक्रममा स्थानीयसँग मिलेर धान रोप्ने, बीउ काढ्ने र ओसार्नेदेखि आगन्तुक अन्य समूहसँग मिलेर समूहगत खेलहरूमा पनि अर्किडका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक हिलेदौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई स्थानीयवासीले असार पन्ध्रको खाजास्वरुप स्थानीय रूपमै तयार गरिएको दहीच्युरा खान दिएका थिए ।