भरतपुर, १५ असार ।
आख्यानकार सिर्जन अविरलको दोस्रो उपन्यास `तथागत´ लोकार्पण गरिएको छ । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा लेखकका मातापिता नीलकण्ठ अधिकारी र गोमा अधिकारीले कृति लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा लेखक अमर न्यौपाने र रेणुका जिसीले कृतिमाथि समीक्षात्मक टिप्पणी राखेका थिए । बुद्ध दर्शनको बारेमा महत्त्वपूर्ण पक्षलाई पुस्तकमा उतारिएको अमर न्यौपानेले बताए । आनीहरूको जीवन र भोगाइलाई पनि उपन्यासमा समेटिएको उनले बताए । `गुम्बाभित्रको संसार, त्यहाँका कुण्ठाहरू र सम्पूर्ण बुद्ध दर्शन बुझ्नको लागि यो किताब उपयोगी छ ।´, न्यौपानेले बताए ।
त्यसैगरी रेणुका जिसीले आत्मचिन्तन बुझ्न यो उपन्यास सफल भएको बताइन् । `मैले पछिल्लोसमय बुद्ध दर्शन पढिरहेकी थिएँ । तथागतले मलाई बुद्ध दर्शनको धेरै ज्ञान दियो । आत्मचिन्तन बुझ्न मलाई सजिलो भयो´, जिसीले बताइन् ।
कार्यक्रममा उदय अधिकारी, सरिता तिवारी र प्रेम रिमालले पनि मन्तव्य राख्दै उपन्यासले समेटेका पक्षमा चर्चा गरेका थिए । लेखक अविरलका ठुलोबुवा मुक्तिनाथ अधिकारीको अध्यक्षतामा गरिएको कार्यक्रमलाई कवि नवराज ढुंगानाले सहजीकरण गरेका थिए । अविरलको यसअघि `मोक्ष´ उपन्यास प्रकाशित छ ।