भरतपुर, १५ असार ।
भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा रक्तदान कार्यक्रम गरिएको छ । चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको आयोजनामा भरतपुर-२२ उपशाखा परिसरमा गरिएको रक्तदान कार्यक्रममा ८ जना महिलासहित ५३ जनाले रक्तदान गरेको उपशाखा सचिव छविराम पौडेलले जानकारी दिए ।
भरतपुर-२२ भित्र रहेका टोल विकास संस्थाहरु र कसरा पर्यटन व्यवसायी समितिको सहआयोजना एवम् भरतपुर महानगरपालिका वडा नम्बर २२ कार्यालयको प्रवर्द्धनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
उपशाखा सभापति कृष्णहरि शर्माको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।