मकवानपुर, १४ असार ।
हेटौँडामा शनिबार शब्दको खेल (स्क्रयाबल) प्रतियोगिता हुने भएकाे छ । बालजागृति अङ्ग्रेजी स्कुलले स्क्र्याबल क्लबसँगको सहकार्यमा शनिबार स्क्र्याबल कार्यक्रम आयोजना गर्दैछ । जहाँ विद्यार्थीहरूलाई स्क्र्याबल अर्थात ‘शब्दको खेल’ खेलाईनेछ ।
कार्यक्रममा हेटौंडा, बकैया र मनहरीका करिब ५० विद्यालयका २५० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । परम्परागत शिक्षण पद्धतिभन्दा फरक यो कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदका साथसाथै अङ्ग्रेजी शब्दभण्डार बढाउन र भाषा सीप विकास गर्न समेत मद्दत गर्ने लक्ष्य राखेको छ ।
शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको थियो । विद्यालयका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक विनोद सुवेदीले कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार, कार्यक्रममा करिब ५० वटा विद्यालयका २५० विद्यार्थीहरूको सहभागिता रहनेछ भने पाँच जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने योजना रहेको छ । कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू समावेश हुनेछन् र प्रत्येक विद्यालयबाट तीन जना विद्यार्थी र एक जना शिक्षक सहभागी हुन पाउने व्यवस्था मिलाइएको प्रधानाध्यापक सुवेदीले बताए ।
स्क्र्याबल क्लबका मकवानपुर संयोजक विवशजंग थापाले स्क्र्याबलको महत्त्व र यसअघि भएका प्रतियोगिताहरूबारे समेत जानकारी दिए । उनका अनुसार यसअघि मकवानपुरमा १३ वटा विद्यालयको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो । स्क्र्याबल खेलले अङ्ग्रेजी शब्दभण्डार बढाउन सहयोग पुर्याउने हुँदा खेलले विद्यार्थीहरूको अङ्ग्रेजी भाषा सीप विकास हुने उनले बताए ।
स्क्र्याबल क्लबका अनुसार, विद्यार्थीहरूलाई केवल किताबी ज्ञान र रटाइमा सीमित नराखी, सक्रिय र रचनात्मक सिकाइ प्रक्रियामा संलग्न गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सञ्चार, सहकार्य, सृजनात्मकता, समालोचनात्मक सोचाइ, नेतृत्व सीप, उद्यमशीलता र समस्या समाधान जस्ता नरम सीपहरूको विकासमा जोड दिन्छौँ ।”
कार्यक्रम रोयल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथिको रूपमा उपस्थित हुने जनाइएको छ । कार्यक्रमको लागि करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रममा स्क्र्याबलका नियम र रणनीतिहरू सिकाउने अन्तरक्रियात्मक कार्यशाला र अभ्यास सत्रहरू समावेश गरिएको आयोजकले जनाएको छ । स्क्र्याबल क्लबका केन्द्रीय सदस्य भोजराज सुबेदीले तालिम संयोजनको जिम्मेवारी लिएका छन् ।
मकवानपुरबाट बालजागृति विद्यालयका छात्र प्रसिद्ध तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता समेत जनाइसकेका छन् भने नेपालमा स्क्र्याबल सम्बन्धी गतिविधि मूलतः स्क्र्याबल क्लब पोखराले गर्दै आएको छ ।