मकवानपुर, १४ असार ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबार राति बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक संसदमा पेस गरेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभामा निर्णायार्थ पेस गरेकोमा बहुमतले पारित गरेको हो ।
नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेकपाकाका ३ सहित ५३ सांसदहरू बजेटको विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ५६ जना सांसदहरू बजेटको पक्षमा रहेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बिच सत्तारुढ दलका बहुमत सदस्यहरूको समर्थन आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको छ । कांग्रेस सांसद प्रभात तामाङ, कृष्णकुमार तामाङ, छिरिङदोर्जे लामा, रामकृष्ण चित्रकार, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको थियो ।