भरतपुर, १३ असार ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल विस्तारको काम आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी काम अगाडि बढिसकेको बताएकी छन् । भरतपुर महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको सन्दर्भमा बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नीति तथा कार्यक्रमबारे बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘भरतपुर विमानस्थल विस्तारको काम अगाडि बढिसकेको छ’ दाहालले भनिन्, ‘आगामी आर्थिक वर्षभित्रै काम सकिने अपेक्षा गरेका छौं ।’ उनले भरतपुर महानगरपालिकाले नगरको सौन्दर्य वृद्धिमा जोड दिँदै हरियाली अभिवृद्धिका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । भरतपुर महानगरले पूर्वाधार विकासमा धेरै काम गरे पनि फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल साइट निर्माणको काम भने गर्न नसकेको स्वीकारिन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलबाट सहजीकरण गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले नगरसभाबाट पारित बजेटबारे मन्तव्य राखेका थिए । उनले उत्पादनमूलक रोजगारी सिर्जना गरी उत्पादन वृद्धिमार्फत् आत्मनिर्भर महानगरपालिका बनाउने उद्देश्यमा बजेट केन्द्रित रहेको बताए ।