खैरहनी, १३ असार ।
सैनिक आवासीय महाविद्यालय चितवनमा अध्यापनरत शिक्षकहरुको लागि सञ्चालित विषयगत तालिम तथा कार्यशाला सम्पन्न भएको छ ।
महाविद्यालयमा अध्यापनरत शिक्षकहरुको विषयगत दक्षता अभिवृद्धि गर्ने, शिक्षण सिकाइमा नवीनतम विधि तथा प्रविधि प्रयोग गर्ने, सीपको विकास गर्ने र विद्यार्थीहरुको सिकाइ उपलब्धिहरु अझ प्रभावकारी बनाई अपेक्षित नतिजा हासिल गर्ने उद्देश्यले सो कार्यशालाको आयोजना गरिएको थियो ।
महाविद्यालयमा तालिम तथा कार्यशालामा विभागीयरुपमा नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित तथा सामाजिक अध्ययन विषय विभागहरुबीच सिकाइ आदानप्रदान तथा विषयगत प्रस्तुति गरिएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा शिक्षण विधि, शैक्षिक सामग्री निर्माण र प्रयोग, मूल्याङ्कन तथा विषयगत समस्या र चुनौतीहरुका बारेमा बृहत् छलफलसमेत गरिएको थियो ।
तालिमको महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी प्रकाश घिमिरेले शिक्षण क्षमता विषयमा सहभागी शिक्षकहरुलाई प्रस्तुति दिँदै तालिमले सहभागी शिक्षकहरुलाई आफ्नो क्षमता, ज्ञान र पेसागत व्यवहारमा अपेक्षित सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे । यस्तै, काउन्सिलर पारु पाण्डेले तनाव व्यवस्थापनका सम्बन्धमा अभिमुखीकरण गरेकी थिइन् । उनलाई महाविद्यालयकातर्फबाट मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले शिक्षकहरुलाई आफ्नो पेसागत दक्षता विकास र सिकाइ आदानप्रदानमा तालिम कोशेढुङ्गा साबित भएको भनाइ राख्दै तालिममा सिकेका सीपहरुलाई व्यावहारिकरुपमा कक्षाकोठामा प्रयोग गर्दा उच्चतम प्रतिफल प्राप्तगरी प्रभावकारी शिक्षण हुने कुरामा आफू विश्वस्त रहेको बताए । कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।