भरतपुर, १३ असार ।
माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।
नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कूल ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिकतर्फका विद्यार्थी छन् । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ । परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस पटक १८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी भने नन ग्रेडिङमा परेका छन् । जसको अर्थ २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।
प्रत्येक विषयको सैद्धान्तिक (लिखित) परीक्षातर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।