मकवानपुर, ११ असार ।
मकवानपुरमा जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार ३ गतेदेखि १० गतेसम्मको अवधीमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको तथा १६ जना बिरामी परेका छन् ।
प्रहरीका अनुसार जङ्गली च्याउ खाएर ४ जना गम्भीर बिरामी भई उपचाररत छन् भने ४ जना सामान्य बिरामी र ८ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जङ्गली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका–८ का ४ बर्षीय दिपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङका बल बहादुर प्रजाको मृत्यु भएको हो ।
असार ३ गते राती ७ बजे कैलाश–९ नामटार बस्ने बिनोद लामा लगायत परिवारका सदस्यले जङ्गली च्याउ खाँदा निजको छोरा दिपेश लामा बिरामी परेका थिए । च्याउ खाएर बिरामी भएका दिपेशको उपचारका लागि असार ४ गते हेटौंडा अस्पताल ल्याइएकाे थियाे ।उनलाई थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियाे । उपचारपश्चात असार ८ गते अस्पतालबाट घरतर्फ ल्याउने क्रममा उनकाे मृत्यु भएको हो ।
यस्तै असार ३ गते राती ७ बजे कैलाश–९, नामटारकी २५ बर्षीया निरुमाया रुम्बा जङ्गली च्याउ खाँदा बिरामी भएकी थिइन् । बिरामी अवस्थामा असार ४ गते हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियो । उनको उपचारको क्रममा असार १० गते मृत्यु भएको हो । आर्थिक अभावका कार चितवन मेडिकल कलेजमा उपचार गर्न असार ९ गते दिउँसो ३ बजेको रुम्बाको आफन्तले हेटौँडा अस्पताल फिर्ता ल्याएका थिए ।
असर ९ गते बिहान ६ बजे राक्सिराङ–७, दुगुवाङका बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ५ जना बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका उनीहरुको उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा ५५ वर्षीय बलबहादुर प्रजाको साँझ ६ः३५ बजेको समयमा मृत्यु भएको थियो ।
च्याउ सेवनबाट १६ जना बिरामी
राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना गम्भीर बिरामी छन् । प्रहरी अनुसार जङ्गली च्याउ खाएर मृत्यु भएका बलबहादुर प्रजाकी श्रीमती ४५ वर्षीया जालिमाया प्रजा, छोरी १५ वर्षीया रेन्जु प्रजा र ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका उनीहरुको अवस्था गम्भीर रहेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विजय कापरीले जानकारी दिए । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका–६, सानुसल्ले र मकवानपुरगढी–५ कालीवनमा जङ्गली च्याउ (गोब्रे च्याउ) खाँदा ८ जना बिरामी भएका थिए । च्याउ खाँदा मकवानपुरगढी–६, सानुसल्लेका ३२ वर्षीय सानु कान्छा पाख्रिन, २८ वर्षीया सुविता पाख्रिन, ५ वर्षीय सुशान्त पाख्रिन, ११ वर्षीय सोनिया पाख्रिन, ४६ वर्षीय श्याम पाख्रिन, ४३ वर्षीय एलिजा पाख्रिन बिरामी परेका छन् । च्याउ खाँदा मकवानपुरगढी–५, कालीवनका ६ वर्षीय समिर थिङ, १२ वर्षीया सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरुको हेटौँडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ–८, लाचेको जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ खाँदा राक्सिराङ–८ का २१ वर्षीय भुवल प्रजा, भुवलकी श्रीमती २१ वर्षीया रतिमाया प्रजा, छोरा ३ वर्षीय समिक प्रजा र भाइ १८ वर्षीय पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।