चितवन, ११ असार ।
चितवनको खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह
घोषणा गरिएको हो ।
खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाले खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरेका हुन् ।
उनले अनिवार्य तथा निःशुल्क घोषणालाई सफल र फलदायी बनाउन सरोकारवाला सबैको निरन्तर र सार्थक प्रयास हुनु पर्ने बताए । खैरहनी नगरपालिकाभित्रका विद्यालय बाहिर रहेका ४ देखि १३ वर्षसम्मका १ सय ४५ जना र विशेष आवश्यकता भएका ३६ जना बालबालिकालाई विद्यालयको शिक्षामा जोडेपछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको बताउँदै नगर प्रमुख खनियाले विद्यालयमा भर्ना गरिएका ती बालबालिकालाई नियमित रुपमा फलोअप समेत गरिने बताए । नगर प्रमुख खनियाले शिक्षाको समस्या समाधान गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न नगरपालिकाले हरेक वर्ष शिक्षामा लगानी बढाउँदै लगेको उल्लेख गरे ।
शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिपेन्द्र सुवेदीले चालु आर्थिक वर्षमा वागमती प्रदेशका १८ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क घोषणा गरिने बताए । निर्देशक सुवेदीले बागमती प्रदेशका सबै पालिकालाई निःशुल्क घोषणा गर्ने लक्ष्य अनुसार आगामी वर्ष पनि २४, २५ वटा स्थानीय
तहलाई बजेट सुनिश्चित गर्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारको लागि बागमती प्रदेशले स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले प्रविधियुक्त र सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताईन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले परम्परागत शैलीको शिक्षाले आजका बालबालिकाको विकास गर्न नसक्ने हुँदा प्रविधियुक्त, व्यवस्थित, वैज्ञानिक शिक्षा अबको कार्यदिशा हुनु पर्ने विचार राखे ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले विशेष आवश्यकता भएका बालबालिकालाई खोजी खोजी विशेष विद्यालयहरुमा भर्ना गराउने र भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाउने कदम अगाडि बढाउन आग्रह गरे।
खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा खेलकुद शाखाका राजु बानियाले स्वागत मन्तव्य राखेका थिए ।
खैरहनी नगरपालिकाका १३ वटा वडामा वडास्तरीय निःशुल्क शिक्षा घोषणापछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको खैरहनी नगरपालिकाले जनाएको छ ।