गैंडाकोट, ९ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले आफूहरु अनुभव बटुल्नका लागि सरकारमा गएको बताएका छन् । रास्वपा गैंडाकोट नगर समितिले आइतबार गैंडाकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।
कार्यक्रमका सहभागीहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी अनुभवको लागि शर्तसहित सरकारमा गएका छौं । हामीहरु सरकारमा त छौं तर सत्तामा भने हाम्रो पकड छैन ।’ रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा मिसन २०८४ मा जाने बताउँदै उनले रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी भएको बताए । पार्टी सभापति लामिछानेमाथि भइरहेको प्रहारलाई सामना गर्न संगठन, नीति र नेतृत्वमा जोड दिइएको उनको भनाइ थियो ।
अन्तरक्रियाअघि मन्तव्य व्यक्त गर्दै उपसभापति वाग्लेले देश बनेन भने व्यक्तिको उपलब्धिले खासै अर्थ नराख्ने बताए । ‘३० वर्षअघिको तुलनामा नेपालमा धेरै प्रगति भएको छ तर गर्न सक्ने जति काम नभएको पनि सत्य हो’ उनले भने, ‘किनकि ३० वर्षअघि बंगलादेश, भियतनाम, भुटानजस्ता विश्वका हामीजस्ता मुलुक अहिले हामीभन्दा अगाडि पुगिसके । हामी अगाडि बढ्न नसक्नुको कारण सुशासनको अभाव नै हो ।’ नेपालबाट पढ्नका लागि बर्सेनि सवा लाख विद्यार्थी विदेश गइरहेको उनले बताए ।
‘सुशासनबाट समृद्धिमा पुग्ने हो’ उनले भने, ‘चीन, भारतले त्यसरी नै समृद्धि हासिल गरेका हुन् ।’ एसियाकै सबैभन्दा दोस्रो गरिब मुलुक नेपाल भएको बताउँदै उपसभापति वाग्लेले गरिब देश भए पनि बोल्न र लेख्न पाइएको भन्दै यसमा कांग्रेस र कम्युनिष्टको योगदान रहेको बताए । उनले रास्वपाले अन्य पार्टीको आलोचना गर्ने नभई आफूले राम्रो काम गरेर देखाउने दाबी गरे ।
लामो समयसम्म राजनीति गर्दा भ्रष्ट हुने खतरा रहेको उनको भनाइ थियो । ‘दुई कार्यकालभन्दा बढी राजनीति गर्दिन । बढी राजनीति गर्दा बिग्रिने डर हुन्छ’ उनले भने, ‘कमाउन त अमेरिका नै थियो मलाई । देश बनाउन राजनीतिमा आएको हुँ ।’ पार्टी विधिमा चल्ने बताउँदै उपसभापति वाग्लेले भने, ‘भोलि पार्टीबाट रवि पाखा लाग्ला, स्वर्णिम पाखा लाग्ला तर रास्वपा पाखा लाग्दैन, मतपत्रबाट घण्टी चिह्न पाखा लाग्दैन । पात्र पाखा लाग्लान्, पार्टी पाखा लाग्दैन ।’
रास्वपा गैंडाकोट नगर सभापति ज्ञानहरि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक नरिश्वर लामिछानेले स्वागत मन्तव्य राखेका थिए । रास्वपा प्रशिक्षण विभाग सदस्य जगदीश शर्माले मन्तव्य व्यक्त गर्दै देश विकासका लागि रास्वपा निर्विकल्प शक्ति भएको दाबी गरे । यसका लागि मबाट हामीको यात्रा तय गर्नुपर्ने उनको भनाइ थियो । अरू पार्टीका तुलनामा रास्वपा अग्रगामी भएको उनले बताए ।
रास्वपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले भने, ‘रास्वपा रवि लामिछानेको नाम र कामले बनेको पार्टी हो । स्वर्णिम वाग्ले आएपछि रास्वपाको स्वर्णिम युग सुरू भएको छ ।’