भरतपुर, ८ असार ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात गरेको छ । भरतपुर-६ स्थित श्री माध्यमिक विद्यालय ईन्द्रपुरीमा भरतपुर -६ का टोल ईकाईका सदस्यलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ५० जना टोल ईकाई संयोजकलगायतका सदस्यहरु सहभागी थिए । गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रम चितवन जिल्लामा पहिलो अभियान कार्यक्रम रहेको नवदुर्गा भवानी साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । यसअघि स्कुलस्कुलमा वित्तीय साक्षरता कार्यक्रम सफल भएको र हाल फेरि दोस्रो चरणमा गाउँगाउँमा ‘वित्तीय साक्षरता´लाई अभियानको रूपमा लैजाने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रममा संस्थाका सचिव रामकृष्ण पौडेलले कार्यक्रमको बारे प्रकाश पारेका थिए भने उपाध्यक्ष संझना शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमलाई संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेल र अडिटर एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामजीप्रसाद अधिकारीले सहजीकरण गरेका थिए ।
संचालक सदस्य झलकप्रसाद सिग्देलले कार्यक्रम संयोजन गरेका थिए । गाउँमा टोलमा यसरी वित्तीय साक्षरता कार्यक्रम लिएर आफ्नो वडामा आएको भन्दै कार्यक्रमकी प्रमुख अतिथि श्री मावि ईन्दपुरीकी प्रधानाध्यापक शान्ति अधिकारीले नवदुर्गा भवानी साकोस परिवारलाई धन्यवाद दिएकी थिईन् ।