चितवन, ८ असार ।
‘योग फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा शनिबार एक कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आयोजना गरेको कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, शिक्षिका, विद्यार्थी, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दकुमार गिरिले स्वागत मन्तव्य राख्दै योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए । प्राचार्य गिरिले स्वस्थकर जीवनयापनका लागि विद्यार्थीहरुलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताए ।
‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने र सिकाइ कार्यलाई प्रभावकारी बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले बताए ।
कार्यक्रममा विद्यालयका योग गुरु अर्जुन चापागाईंले स्वस्थ रहन योग अपरिहार्य रहेको बताए । चापागाईंले विद्यार्थीलाई विभिन्न योग आसन पनि गराएका थिए ।
कार्यक्रम विद्यालयका क्याप्टेन अनमोल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।