मकवानपुर, ८ असार ।
श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेकाे उक्त सम्मानबाट शीतविन्दुलाई शुक्रबार हेटौंडामा सम्मान गरिएकाे हाे ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशि २५ हजार रुपैयाँ रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशि यस वर्षबाट बढाएर २५ हजार रुपैयाँ बनाइएकाे हाे । कार्यक्रममा ज्ञवालीले कविता वाचन समेत गरेका थिए । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविता वाचन गरेका थिए भने आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाएका थिए । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति रहेको थियो ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रबर्द्धनमा भएकाे सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गरे ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), मार्क्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन् ।