भरतपुर, ६ असार ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मौलाकालिका मन्दिर दर्शन गर्न जाँदा केवुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केवुलकारमा छुट दिने सम्बन्धी मौलाकाली केवलकार लिमिटेड र उद्योग वाणिज्य संघ–चितवनबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्व अन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । उनले अन्य सेवा उपलब्ध गराउने संस्थाहरुसँग पनि छुट गराउन पहल गरिरहेको बताए ।
केवुलकारको छुटमा टिकट खरिद गर्नको लागि मौलाकाली केवलकारको कार्यालय वा काउन्टरबाट टिकट खरिद गर्न सकिने मौलाकाली केवलकार लिमिटेडले जनाएको छ ।
गैंडाकोटमा सञ्चालित मौलाकाली केवुलकारको टिकट खरिदमा उद्योग वाणिज्य संघ–चितवनका सदस्यले २० प्रतिशत छुट पाउने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । उनले सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्ने र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने बताए ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यकारी निर्देशक निलबहादुर के.सी, मौलाकाली केवलकार लिमिटेडका प्रबन्धक सुरज पौडेल र कमलराज ढकालको सहभागिता रहेको थियो ।
यसपूर्व नै सम्झौतापत्रमा हस्तक्षर भई छुट उपलब्ध गराइरहेका व्यवसायिक प्रतिष्ठानहरु एन. पी. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्ड्रेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि., ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराइचुली, रोयल सेन्चुरी होटल, पोखरास्थित गन्तव्य रिसोर्टल र मनकामना दर्शन प्रा. लि. ले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउँदै आएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।