`नथिया´ उपन्यासबाट पाठकको मनमा बस्न सफल आख्यानकार सरस्वती प्रतीक्षाद्वारा लेखिएको `स्व´ दोस्रो उपन्यास हो ।
उपन्यासकारको नाम सरस्वतीको बिच्चमा पनि स्व रहेको छ । उहाँले यस उपन्यासमार्फत आफूभित्रको स्वलाई अर्थात `म को हुँ´ भनेर चिन्नुपर्ने कुरालाई जोड दिनुभएको छ । उपन्यास पढ्दै जाँदा सप्तमले बाल्यकालदेखि किशोरावस्थासम्मको उमेरमा आउँदा आफ्नै आमाबुवाबाट प्रेमको अनुभव गर्न नपाएको, आमाबुबा बिचको झगडाको चपेटामा आफू पर्नु परेको पीडा, आमाबुबाको दिनदिनैको झगडाको कारण परिवार नै विखण्डित बन्न पुगेको कुरा, आमाको माया पाउनुपर्ने समयमा होस्टेलमा गएर बस्नुपर्ने बाध्यता , एउटा बिरालोले आफ्नो बच्चालाई गरेको माया जत्ति पनि आफूले आफ्नो आमाबाट माया पाउन नसकेको सप्तमको गुनासोयुक्त भावले कतिबेला आँखा रसाउन पुगे पत्तो नै पाइनँ ।
आमा सम्बन्धमा बाँच्नेभन्दा पनि महसुस गर्ने कुरा हो ।
साथीको महसुसवाला कुराले त झनै अन्योलमा परेको थियो ऊ । कहाँ, कसरी, कहिले आमालाई महसुस गरेँ भनेर निकै घोत्लियो ऊ तर अहँ, महसुस भएको कुनै कुरा याद आएन । बरु महसुस नभएका कुराहरूको फेहरिस्त बन्यो दिलदिमागमा ।
केही वर्षपछि प्रेमविवाहमा प्रेम सकिएर विवाहमात्रै बाँकी रहेको ।
पुसको जाडोमा घाम नलागे पनि आमालाई देख्दा अचानक पारिलो घाम लागे झैँ भयो र न्यानो महसुस गर्यो ।
घर बस्दा धेरैपटक बाबाको गाली र कुटाइ खाएपछि, मानसिक र शारीरिक यन्त्रणा खप्न नसकेपछि सप्तमले सोच्थ्यो- यस्तो बाबा जीवनमा भए पनि के, नभए पनि के !
छोरा भेट्न आउँदा छोरा त देख्ने तर छोराको आँखामा तैरिरहेको सघन उदासी नदेख्ने । छोराको हातमा गुलियो मिठाई त थमाइदिने तर छोराको बेस्वादिलो जिन्दगी नदेख्ने । जसले आफ्नो छोराको अनुहारमै छताछुल्ल पोतिएको एक्लोपन र दिग्दारी देख्न सक्दैन, उसले के देखोस् – छोराको मुटुमा परेको प्वाल र प्वालको खालीपन ।
उम्लिएको पानीमा अनुहार देखिन्न भन्थे । उम्लिएकी आइमाईसित परेपछि त झन् जिन्दगीकै अनुहार देखिन्न रहेछ । पद र पैसाको मात चढेपछि लोग्नेलाई लोग्ने नगन्ने दुष्ट आइमाई ।
छोराको बेवास्ताले आजित भएपछि एक दिन अलि चर्को स्वरमा भनिन्, ‘तिमीलाई आफ्नी आमाभन्दा किन यी बिरालाहरू प्यारा भइरहेछन् ?´
`तपाईंलाई आफ्नो छोराभन्दा किन सधैँ आफ्नो जागीर र करिअर प्यारो भयो ?´
यतिका समयपछि भेट भएकी आमासित मुखमुखै लाग्न कसो कसो उसले सकेन । बरु घुमाएर भन्यो, `हेनुस् त आमा ! एउटी बिरालीले त आफू जहाँ-जहाँ जान्छे, आफ्नो बच्चालाई दाँतले च्यापेर आफूसँगै लिएर जाँदी रहिछे । बिरालीको बच्चा कस्तो भाग्यमानी !´
मुखले जवाफ नचाहिने वाक्य बोले पनि आमालाई हेर्दा एउटा आँखामा प्रश्न र अर्को आँखामा व्यङ्ग्य मिसाएर हेर्यो । उसका आँखाले प्रश्न गरिरहेका थिए, `आमा, मेरो बाल्यकाल किन एउटा बिरालोको बच्चाको बाल्यकालभन्दा पनि तुच्छस्तरको भयो ?´
तेरी आमा एक महिनाअघि नै अरूसित पोइल हिँडिसकी ।
बाबाको मृत्यु हुँदा कत्ति रुन आएन सप्तमलाई । उसका आँखाबाट एक थोपा आँसु झरेन । समाजलाई देखाउन पनि एकपटक त रुनुपर्ने हो भन्ने मनमा नआएको होइन तर आँखाबाट एक थोपा पनि आँसु झर्दै नझरेपछि केको रुनु ? कसरी रुनु ?
सुत्नुअघि चाहिँ आफ्नै आँखाबाट बगेको आँसु र हिक्कहिक्क रुवाइलाई सुनायो । खुसीको खबर सुनाउन हिँड्दाहिँड्दै आखिरीमा आफ्नै आँसुको बाटोमा आइपुगेको उसले मेसै पाएन ।
आफैले जन्माएको सन्तान सधैँका लागि त्यागेर कोही स्वास्नीमान्छे क्रूरतापूर्वक कसरी अर्को मान्छेसित बिहे गरेर जान सक्छ ?
उसले आफ्नै आँखाले पटक-पटक देखेको थियो, एउटी बिराली त आफू जहाँ-जहाँ जान्छे, आफ्नो बच्चालाई दाँतमा च्यापेर त्यहाँ-त्यहाँ लैजान्छे । फेरि ऊ त मान्छेको बच्चा थियो । आफ्नी आमाले जागीरको सिलसिलामा आफू जहाँ-जहाँ गइन्, त्यहाँ त्यहाँ त लगिनन् कहिल्यै । जीवनमा एकखाले गुनासो बोकेरै बाँचिरहेथ्यो सधैँ ।
सप्तमको जीवन भोगाइको अवस्थाले उपन्यास पढ्ने हरेक जो कोहीलाई स्तब्ध तुल्याउँछ । मलाई लाग्छ आज पनि कयौँ परिवार भित्र सप्तम जस्ता बालबालिकाले परिवारको माया पाइरहेका छैनन् ।
आमाबुबाको पारिवारिक द्वन्द्वको शिकार बालबालिकाले भोग्नु परेको छ । सप्तमले हाम्रो समाजको केही परिवार भित्र भइरहेका पारिवारिक द्वन्द्वबिच जीवन बाँच्न विवश बालबालिकाको प्रतिनिधित्व गरिरहेको छ ।
छोराछोरीलाई होस्टेलमा राखेर आमाबुबा पैसा कमाउने र समृद्ध भविष्य निर्माण गर्ने दौडमा लागि परेका छन् । छोराछोरीलाई पैसाको बिटो दिएर आमाबुवाको सन्तान प्रतिको कर्तव्य निर्वाह गरेको ठानिरहेका छन् । जतिबेला बालबालिकालाई आमा बुवाको माया, स्नेह र न्यानो काखको जरुरत पर्छ त्यतिबेला आमा बुवाले दिएको पैसाको बिटोले त्यो किसिमको अभाव टार्न सक्दैन । पारिवारिक द्वन्द्व कै कारण आज धेरै बालबालिका अभिभावकबिहिन बन्न पुगिरहेका छन् । हिंसाको सिकार बनिरहेका छन् ।
स्व पढ्ने हरेक अभिभावकलाई बलियो रुपमा यसले हल्लाउँछ । कर्तव्यबोध गराउँछ । अभिभावकबिचको द्वन्द्वको कारण छोराछोरीको मनमस्तिष्कमा कस्तो किसिमको असर पुर्याउँछ भन्नेबारे उपन्यासले राम्रोसँग चित्रण गराउन सफल भएको छ ।
उपन्यास पढ्दै जाँदा हालसालै मात्र चितवनको एक विद्यालयको होस्टेलमा आत्महत्या गरेकी एक बालिकालाई झल्झली सम्झिन पुगेँ । उक्त घटना पनि पारिवारिक द्वन्द्वको एक अंशको रुप हो भन्न सकिन्छ । छोरीलाई होस्टेलमा राखिएको, आमाबुवाले दोस्रो विवाह गरेर आ-आफ्नो राजीखुशीको जीवन बिताएको कुरा छ । आत्महत्या गर्ने यी बालिकाले पनि विद्यालयको गतिविधिमा आफूले सफलता हासिल गरेको क्षणलाई आफ्नो परिवारको सदस्यसामु खुशी प्रकट गर्न नपाउनुको गहिरो पीडा थियोे । उपन्यासमा पनि सप्तमको यही अवस्था छ । यसकारण पनि उपन्यासले हाम्रो समाजलाई बोलेको छ ।
उपन्यासलाई सप्तम र काव्याको प्रेम सम्बन्धका कुराहरुले थप मिठास प्रदान गरेको छ । प्रेम सम्बन्धमा आउने सानातिना वैचारिक मतभेदका कुराहरुले प्रेम गर्ने जोडिहरुमा रहेको अपरिपक्व प्रेम सम्बन्धलाई देख्न सकिन्छ । सप्तमको एक्लोपनको जिन्दगीमा काव्याको आगमनले सप्तमलाई कतै हिँडिरहेको समयमा अकस्मात् झरी पर्दा ओत लाग्ने ठाउँ भेटिएको जस्तो हुन पुग्छ । सप्तमको हृदय भित्र थुप्रिएका पीडाहरुको गरुङ्गो भारी बिसाउने चौतारी बनेर आएकी छ काव्या ।
एक `असल साथीको साथले फरक पर्दछ जीन्दगीमा´ भने झैँ काव्याको आगमनले सप्तमको जिन्दगीमा वर्षौंदेखिबाट हराएको खुशी आनन्द पुनः फर्किएको जस्तै भएको छ । उनीहरू एक आपसमा जीवनका हरेक कुराहरु सेयर गर्छन्, प्रेम साटासाट गर्छन् । सँगै हाँस्छन् अनि सँगै रुन्छन् । एकैछिनमा झगडा गर्छन् , फेरि एकैछिनमा एक अर्काको अङ्गालोमा बाँधिएर दुनियाँ बिर्सिदिन्छन् । सप्तम र काव्याको प्रेम निकै रोमाञ्चक छ । एक अर्का प्रति वास्ता देखाउँछन् , खाँचोमा आवश्यकता बनिदिन्छन् । निकै लोभलाग्दो छ उनीहरु बिचको प्रेम ।
उपन्यासका कयौं पन्नाहरुमा व्यक्त गरिएका शब्द र वाक्यांशहरुले पाठकको मथिङ्गल नै झङ्क्रित पारिदिन्छ।
मान्छेहरू मखमली भेट भन्छन्, हाम्रो भेटचाहिँ जलकुम्भी भेट भयो !”, त्यस भेटको स्मृतिमा मुस्कुराउँदै बोलिन् काव्या । चुपचाप-चुपचाप सप्तमले पनि आफ्नो तर्फबाट मुस्कानमा मुस्कान थप्यो ।
प्रेमको सौन्दर्य नै यही हो कि सँगै हुँदा पनि सँगै हुनु हो र सँगै नहुँदा झन् धेरै सँगै हुनु हो ।
हामी हाम्रा वास्तविक दुःखहरूले भन्दा आफूले निर्माण गरेका काल्पनिक दुःखहरूले बढी दुख्दा रहेछौँ ।
प्रेमको कुनै उद्देश्य हुँदैन । प्रेम त बस्, हुन्छ, आफै हुन्छ । यसमा नाफाघाटाको कुनै हिसाबकिताब हुँदैन । विवाह गर्नुपर्छ, प्रेम आफै हुन्छ ।
यस धरतीमा जन्मिसकेपछि आफू केका लागि जन्मेको हो ? हर मान्छेले थाहा पाउनु जरुरी छ । के तिमीलाई थाहा छ, तिमी किन यहाँ छौ भनेर ?
जब कसैले सोध्छ, ‘हाउ आर यु ?” प्रश्न सोध्नेले आफ्नो वाक्य पूरा गर्दा नगर्दै हाम्रो मुखबाट वाक्य फुस्किसकेको हुन्छ, “आई एम फाइन ! यो जवाफ दिँदै गर्दा पनि हामीलाई थाहा हुन्छ कि हामी ठीक छैनौं भनेर । कहिलेकाहीँ कसैले इमानदारीपूर्वक `म ठीक छैन´ भन्यो भने पनि प्रश्न सोध्ने मान्छेले ‘ठीक छु”´ नै सुनिरहेको हुन्छ । हाम्रा कानहरू रेडिमेड `ठीक छु´ भन्ने सुन्नमा अभ्यस्त जो भएका हुन्छन् । स्वयम्लाई कस्तो छ ? यो प्रश्नको जवाफ स्वयम्ले स्वयम्लाई दिन जरुरी छ ।
म आज जे छु, त्यो म होइन भन्ने धेरैलाई थाहा छ । आफू जे हुँ, त्यो बनेर बाँच्ने हिम्मत कतिमा छ ? यो प्रश्नको उत्तर सबैसित हुनु जरुरी छ ।
एउटा मान्छेको पूरै जिन्दगी सम्बन्धको कोष्ठकभित्र बाँच्दाबाँच्दै सकिन्छ । जिन्दगीको कुनै न कुनै पलमा मान्छे सम्पूर्णतः एक्लो हुनपुग्छ र आफूले आफैँलाई सोध्छ, म कसको हुँ ? सबको हुने ध्याउन्नमा आफू आफैँको हुन नसक्दाको सत्यसँग जब ऊ ठोक्किन पुग्छ, त्यतिन्जेल निकै ढिला भइसकेको हुन्छ । जो आफू आफ्नै हुन सक्दैन, भला त्यो अरूको कसरी हुनसक्छ ! ढिला नगरीकन समय छँदै आफूले आफैलाई प्रश्न गर, तिमी कसका हौ ?
आफूलाई बाहिरी के-के कुराहरूले खिचिरहेको छ भनेर जान्न पनि शान्त भएर बस्न जरुरी हुन्छ । बाहिरी के-के कुराहरूको दबाबले आफूलाई आफूसित भेट्न दिइरहेको छैन भनेर बुझ्न पनि अडिन जरुरी हुन्छ । अडिनलाई रोकिन जरुरी हुन्छ ।
प्रेममा प्रेम त धेरैले दिन्छन् । प्रेममा स्वयम्लाई चाहि कसै-कसैले मात्र दिन्छन् ।
हामीले जिइरहेको जीवनमा हामी जीन्दगीका खुशीहरु बटुल्न भनी सधैँ झैँ भागदौड गरिरहेका हुन्छौँ । हामीले परिवारको खुशीका लागि भनेर आफ्नो खुशीको समेत तिलाञ्जली चढाइरहेका हुन्छौँ । तर हामीले परिवारलाई चाहिएको वास्तविक खुशी के हो भन्ने तिर ध्यान नै दिइरहेका हुँदैनौँ । हामीले न त परिवारका निम्ति समय छुट्याउन सक्यौँ, न त आफैका लागि । सन्तानको खुशी के मा छ भन्नेकुरा जबसम्म हरेक आमा बाबुले बुझ्न सक्दैनन् तबसम्म यस पृथ्वीमा भएका धेरै परिवारहरु द्वन्द्व को चपेटामा परेर विस्थापित नै भएर जानेछन् ।
हामी हरेकले आफू को हुँ भनेर आफ्नो सहि पहिचान गर्नु जरुरी छ । अरुले दिएको पहिचानले हामी भित्रको वास्तविक सत्यता सधैँ अँध्यारोमा नै परिरहने छ ।
म को हुँ ?
म यस संसारमा किन छु ?
म केका लागि यो संसारमा छु ?
म आउनुको उदेश्य के हो ? भन्ने जस्ता सवालहरु आफूले आफैलाई गरेपछि मात्रै स्व को वास्तविक तस्बिर उजागर हुनेछ । आफू भित्रको पर्दा नखुलेसम्म म को हुँ भन्ने कुरा थाहा पाउन गाह्रो छ । यसको लागि गहिरो चिन्तन, गहिरो तपस्या र धैर्यपूर्वकको साधना जरुरी रहन्छ । हामी हरेकले आफू भित्र लुकेर बसेको म अर्थात स्वलाई खोजेर सार्वजनिक गर्नु आवश्यक छ ।
हामी बसेको समाजमा सिद्धार्थ जस्ता बालकहरु पनि छन् ,जसले आमा बाबुको झगडामा दिनहुँ जसो कुटिनु परेको छ । आमा बाबुले गर्ने घरायसी झगडाको दीर्घकालीन असर बच्चाहरुमा पछिसम्म पनि रहिरहन्छ भन्ने कुरा धेरै परिवारलाई थाहा छैन । सिद्धार्थ कि आमाले जस्तै समाजले के भन्ला भनेर दिनहुँ लोग्नेको यातना सहन विवश महिलाहरुको पीडा निकै कारुणिक छन् । जसले चाहेर पनि आफूलाई लोग्नेबाट स्वतन्त्र पार्न सकिरहेका हुँदैनन् । किनकि लोग्ने छाडेर बसेकाहरुलाई समाजले अर्कै नजरले हेर्छ जसको कारण धेरै महिलाहरु लोग्नेले दिने पीडा सहेरै बाँच्न विवश छन् ।
आमा, बाले मलाई किन कुटेका हिजो ? तपाईंलाई नकुटेको दिनमा किन मलाई कुट्छन् सधैँ ?
आमाले करुणामय नजरले मलाई हेर्दै भनिन्, ‘जब तिम्रा बालाई हदभन्दा बढी मलाई पीडा दिन मन हुन्छ, तब मलाई नकुटीकन तिमीलाई कुट्छन् बाबु ! मलाई कुट्दा त मलाई मात्र दुख्छ, तिमीलाई कुट्दा मलाई झन् दोब्बर दुख्छ भन्ने त्यसलाई थाहा छ । मेरो सास तिमीमा अड्केको छ भन्ने जान्दछ त्यसले !”
आमा, बासित डिभोर्स गरेर छुट्टै बसे हुन्न ? कति सधैँ हिंसा सहेर बाँच्नुहुन्छ ?
आमाले गम्भीर हुँदै भनिन्, “तेरो बासित म मायाले होइन, समाजको कारणले मात्र बसेकी हुँ !
तपाईंलाई हररात कुट्दा जोगाउन नआउने समाजका लागि किन सँगै बस्नुपर्छ र ?, मेरो सानो मगजले नबुझेको कुरा सोधे ।
लोग्ने देखाउनका लागि पनि चाहिन्छ छोरा ! डिभोर्स भएकी महिलालाई हेर्ने समाजको नजर नै अर्कै हुन्छ । म मेरो स्वतन्त्रताका लागि तिम्रो भविष्य दाउमा लगाउन सक्दिनँ ।
आफ्ना सन्तानको भविष्यका लागि कयौं आमाहरुले आफ्नै जीन्दगी समेत लोग्नेले दिएको चरम यातनामा नै सिध्याउन तम्तयार हुन्छन् । सन्तान प्रति आमाको विशाल हृदयको हामी बयान गर्नै सक्दैनौँ ।
यस्ता घटनाहरु हाम्रो घर वरपर दिनहुँ घटिरहेका छन् । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।
गन्धकुटीमा सबैले आफूले भोगेका र अनुभव गरेको दु:खको कथा सुनाउने क्रममा मादीकिनारको जीवनको कारुणिक कथाले मगज नै खलबलाइदिन्छ । मादीकिनारले लगातार रुपमा चार जना परिवारको सदस्य गुमाउनुपरेको पीडा भयंकर नै थियो । मान्छेले जीवनमा जस्तोसुकै चोट पनि सहनुपर्दो रहेछ भनेर मादीकिनारको कथाबाट बुझ्न सकिन्छ ।
अँध्यारोपछिको उज्याला कस्तो हुन्छ ? त्यो कसैले मलाई सोधोस् ! खुसियालीपूर्ण पारिवारिक जीवन बाँचिरहँदा मैले सुखको पराकाष्ठा देखें । उज्यालोपछिको अँध्यारो कस्तो हुन्छ ? त्यो पनि मलाई कसैले सोधोस् । एकपछि अर्को लगातार आफ्ना मान्छेका शवहरूलाई पोल्दै गर्दा मैले दुःखको पराकाष्ठा देखें ।
गन्धकुटीमा बस्दैगर्दा सप्तमले जिन्दगीको एउटा रहस्य थाहा पाउँछ ।
जिन्दगी त्योमात्र होइन रहेछ, जुन हामी नाङ्गा आँखाहरूले सामुन्नेमा देख्छौँ । जिन्दगी त्यो पनि रहेछ, जुन हामी नाङ्गा आँखाहरूले सामुन्नेमा देख्दैनौँ । धेरै रहस्यमयी रहेछ जिन्दगी ।
अँधेरीको कथा सुनेपछि सप्तमले आफ्नी आमाले रोजेर हिंडेको बाटोलाई गलत ठानेन । प्रेम जहिले पनि जोसित
पनि हुनसक्छ । प्रेम कहिल्यै व्यभिचारी हुन सक्दैन ।
घरमा प्रेम महसुस नभएपछि एउटी स्वास्नीमान्छेले प्रेमका लागि घरबार छोडेर गई त के अपराध गरी ? आफ्नो सन्तान छोडेर, घर छोडेर यसरी हिँड्ने स्वास्नीमान्छे खराब हुन् भनेर यही समाजले सिकायो । स्वास्नीमान्छेलाई देवी नै बनाएर कैद गर्न रुचाउने यो समाज, मान्छे बनेर उसले बाँचेको देखिनसहने । समाजको यही सिकाइ दिलदिमागमा यसरी गडेर बसेको थियो कि उसलाई आफ्नी आमा एक खराब स्वास्नीमान्छे भन्ने लागिरह्यो सधैँ । प्रेम र ममतामध्ये एक रोज्नुपरेको खण्डमा एउटी स्वास्नीमान्छेले प्रेम रोज्न किन नपाउने ? स्वास्नीमान्छे सधैँ त्याग र बलिदानको प्रतिमूर्ति नै बनेर बाँच्नुपर्छ भन्ने के छ, उसले स्वयम्को जीवन बाँच्न किन नपाउने ? उसको जिन्दगीको अदालतमा किन न्यायाधीश बनेर अरू नै विराजमान हुने र अरूकै फैसला किन लाद्न खोज्ने ?
कथाको एउटा पाटोमा मात्र उभिएर हेर्दा उसले आफ्नी आमालाई सधैँ खराब र स्वार्थी देखिरह्यो । कथाको अर्को पाटोमा उभिएर हेर्दा आफ्नी आमालाई उसले पहिलोपटक आफ्ना लागि बाँच्ने फरकखाले स्वास्नीमान्छे पायो । यो समाजले कोरिदिएको परिधिमा बाँच्न नचाहेर फुक्काफाल भएर हिँडेकी स्वतन्त्र स्वास्नीमान्छे पायो ।
पितृसत्तात्मक समाजले आफूभित्र जस्तो सोचको चिप्स जडान गर्यो मान्छे त्यस्तै हुनेरहेछ भन्ने कुरा सप्तमले बल्ल आएर थाहा पायो । पितृसत्तात्मक समाजले उत्पादन गरेको मानवभन्दा फरक मानव भएर बाँच्न चाहन्थ्यो तर समाजले निर्माण गरेको पितृसत्तात्मक सोच अर्कै थियो । सप्तम आफूले इच्छाएको जीवन जीउन चाहन्थ्यो त्यसैले ऊ समाजको पितृसत्तात्मक सोचबाट झल्याँस्स ब्युँझिएको छ । समाजले आफूलाई यान्त्रिक मानव बनाएको र आफू मान्छे हुनै बाँकी रहेछ भनेर अब म मान्छे बन्छु भन्ने अठोट लिन्छ ।
भ्रमको दुनियाँबाट आफूलाई अलग राखेर म को हुँ भनेर आफूले आफैलाई जब हामी प्रश्न गर्न थाल्छौँ त्यसै बखत हामीले आफू को हुँ भनेर थाहा गर्न सक्ने रहेछौँ । हामीलाई अरुले दिएको परिचयमा जीउने बानी परेकोले रहेछ आफूभित्रको मनुष्यलाई हामीले चिन्न नसकेको । जब हामीले आफैलाई चिन्न सफल हुन्छौँ तब यो दुनियाँ फिका लाग्ने रहेछ । हामीले बाँचेको दुनियाँ भन्दा कयौंगुणा सुन्दर दुनियाँ हामीले भेटेकै रहेनछौँ । जब सप्तमले आफू भित्रको स्वलाई नजिकबाट चिन्यो, तब मात्रै सप्तमले जीवनको सार राम्रोसँग बुझ्न सफल रह्यो ।
संसारिक जीवनभन्दा कयौंगुणा सुन्दर छ आध्यात्मिक जीवन । आध्यात्मिक जीवन अभ्यासले मात्रै मान्छेले जीवनको सार बुझ्न सक्छ । हामीले बाँचेको भागदौडको जिन्दगीलाई विश्राम दिएर एकैछिन आध्यात्मिक बन्ने प्रयास मात्रै गर्यौँ भने पनि हामीले हाम्रो जीवनको महत्वलाई बुझ्न सक्ने रहेछौँ । वास्तवमा जीवन बुझेर बुझ्नै नसक्ने एउटा गम्भीर रहस्य रहेछ । जब हामी जीवनको रहस्यलाई बुझ्दै जान्छौँ अनि पो जीवन मीठो लाग्ने रहेछ ।
संसारिक माया मोह र उल्झनहरुलाई पन्छ्याएपछि मात्रै पो जीवनको वास्तविकता बुझ्न सकिने रहेछ । जसरी दुईवटा नाउमा खुट्टा राखेर हिँडन सकिन्न , उसैगरी संसारिक जीवन र आध्यात्मिक जीवन सँगसँगै जीउन नसकिने रहेछ । हामी कस्तो परिवारमा हुर्कियौँ, कस्तो संस्कार पायौँ भन्ने कुरालेे पनि ठूलो महत्त्व राख्ने गर्छ । प्रशस्तै रुपियाँ पैसाले पनि परिवारमा सुख शान्ति नहुने रहेछ । जबसम्म हामीले परिवारको महत्त्वलाई राम्रोसँग बुझ्दैनौँ तबसम्म हामीले खोजे जस्तो, चाहे जस्तो परिवार निर्माण हुँदैन रहेछ । प्रेमले मात्रै परिवार बलियो रहन्छ । यी नै कुराहरुको अभावको कारण आज धेरै परिवारहरु तहसनहस भएर गइरहेका छन् ।
स्व नेपाली साहित्य क्षेत्रमा बलियो उपन्यासको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । स्वले विखण्डन हुनै लागेका धेरै परिवारलाई एकफेर गहिरिएर सोच्न बाध्य बनाउनेछ । स्वले उठान गरेको विषयवस्तुले हरेक जो कोहीलाई जीवनको वास्तविकता बुझ्नको निम्ति प्रेरणा प्रदान गर्नेछ । उपन्यासकारलाई सुन्दर कृतिका लागि हार्दिक बधाई तथा शुभकामना ।
चरैवेति चरैवेति चरैवेति