भरतपुर, ४ असार ।
चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सोमबार ‘स्क्र्याबल’ अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा चितवन र नवलपुरका संस्थागत तथा सामुदायिक विद्यालयका ९८ जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘स्क्र्याबल’ भनेको बालबालिकालाई स्बोर्डमा ‘पजल’ मार्फत अक्षरहरुको संयोजन गरेर अङ््ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो । कार्यक्रममा ‘स्क्र्याबल’ क्लब नेपालका प्राविधिक संयोजक तथा राष्ट्रिय प्रशिक्षक अर्जुन पाण्डेले अभिमुखीकरण गरेका थिए । ‘स्क्र्याबल’ क्लब नेपाल चितवनलगायत २६ जिल्लामा क्रियाशील रहेको ‘स्क्र्याबल’ क्लब नेपाल चितवनका संयोजक ओमराज मैनालीले जानकारी दिए ।
यो ‘एनाग्राम’ र ‘क्रसवर्ड’ हरू संयोजन गर्ने खेलको एउटा ‘ब्राण्ड नेम’ हो जसमा दुईदेखि चार जनासम्म खेलाडीहरुले शब्दहरु निर्माणका लागि विभिन्न बिन्दुमानहरुको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् । साधारणतया दुई जनाको बीचमा खेल हुने कार्यक्रम संयोजक मैनालीले बताए ।
एउटा विद्यालयबाट एक जना शिक्षक र दुई जना विद्यार्थीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा विद्यालयका निर्देशक नईम चौधरी र स्काइ राइडर स्कुल रत्ननगर, टाँडीका परियोजना प्रमुख गोपीलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । आगामी असोज १ गते जिल्लास्तरीय ‘स्क्र्याबल च्याम्पियनसीप’ आयोजना गरिने विद्यालयले जानकारी दिएको छ ।