भरतपुर, ३ असार ।
टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ ।
टस जितेर सुरुमा फील्डिङ गरेको नेपालले बाङ्ग्लादेशलाई १०६ रनमा अलआउट गर्दा नेपालका समर्थकहरू आशावादी भएका थिए । तर दोस्रो इनिङ्समा नेपालले अपेक्षित ब्याटिङ गर्न सकेन र ८५ रनमै अलआउट भयो ।
योसँगै नेपालको यसपालिको विश्वकप यात्रा जितबिना समाप्त भएको छ ।
यसअघि विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अङ्क पाएको थियो । दक्षिण अफ्रिकासँगको तेस्रो खेलमा विजयको नजिक पुगे पनि नेपालले १ रनले उक्त जित गुमाएको थियो ।
बाङ्ग्लादेशले हालसम्म समूह चरणका ४ खेलमध्ये ३ जितेको छ र १ मा हार बेहोरेको छ ।