चितवन, २ असार ।
राज्यबाट उचित सम्बोधन नभएको भन्दै नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ चितवनले समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
किसानको क्षतिपूर्ति, सुविधा र समयमा मल नपाउने समस्या रहेको भन्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । दुध उत्पादक कृषक, केरा उत्पादक कृषि, माहुरीपालक किसानको बेहोरेको समस्या देखाउँदै किसानको समस्यामा गम्भिर हुन आग्रह गरेको महासंघ चितवनका सचिव इन्द्रमणि गैरैले बताए ।
महासंघको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, सचिव ध्रुव पोखरेल, नेपाल किसान महासंघका क्षेत्रीय अध्यक्ष परञ्जीवी ढकाल, सार्वजनिक सेवा कर्मचारी संघ चितवनका अध्यक्ष सुरेश अधिकारी सहभागी थिए । यादवले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाए ।
दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले ६ महिनादेखि भुक्तानी नदिएको भन्दै सरकारसँग भएको सम्झौता अनुसार ४ अर्ब रकम भुक्तानीको ब्यवस्था गर्न माग गरिएको छ । गत जेठको १७ गतेदेखि चार दिनसम्म आएको हावाहुरीले केराखेतीमा क्षति गरेको उचित क्षतिपूर्ति र र विमा भुक्तानीको माग गरिएको छ । केराखेतीमा करिब १२ करोड बराबरको क्षति भएको छ । सात सय किसान मारमा परेका छन् ।
त्यस्तै समयमा मल नपाउने समस्याको पनि महासंघले कुरा उठाएको छ । आवश्यकताभन्दा चालिस प्रतिशत मात्र मल आयात हुने गरेको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन माग गरेको छ । दानाको मूल्य, नेपाल सरकारबाट पाउने विमा, महको बजारीकरणको समस्याप्रति ध्यानाकर्षण गराएका छन् ।
नेपालमा वार्षिक ९ हजार मेट्रिक टन उत्पादित चार हजार मेट्रिक टन महले बजार नपाएको जानकारी गराउँदै उचित बजारीकरणको ब्यवस्था मिलाउन माग गरिएको छ । धारासायी बनेको पोल्ट्री ब्यवसायको गहन अध्ययन गरी समाधानको लागि माग गरिएको अध्यक्ष निलकण्ठ रिजालले बताए ।