गैंडाकोट, ३२ जेठ ।
गैंडाकोट नगरपालिका वडा नम्बर-५ मा रहेको मातृभूमि टोल विकास संस्थाले आफ्नो टोलभित्र रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । टोल भित्र रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप फूल, खादा, माला र स्वस्थकर मह वितरण गर्दै सम्मान गरिएको हो ।
पछिल्लो समय घर-परिवारमा ज्येष्ठ नागरिक एक्लै हुनुपर्ने परिस्थिति भएको हुँदा उनीहरुलाई एक्लोपनको महसुस हुन नदिन सिङ्गो टोल विकास संस्था नै साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले जानकारी दिए ।
ज्येष्ठ नागरिकसँग मानव मूल्यमान्यता, सांस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुनाले समाजको हरेक विकासको गति र सामाजिक भावनामा ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको कार्यक्रमका प्रमुख अतिथि तथा वडा ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले बताए ।
५० जना ज्येष्ठ नागरिकसँगै एकल महिला, मिर्गौला पीडित, क्यान्सर पीडितलाई समेत सम्मान गरिएको कार्यक्रममा समाजसेवी शान्ति न्यौपाने, केशवप्रसाद सापकोटा, एकनाथ रिजाललगायतको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थितलाई टोल विकास संस्थाकी उपाध्यक्ष पार्वती रिमालले स्वागत गरेकी थिइन् । कार्यक्रमलाई संस्थाकी सचिव बिन्दु लामिछानेले सहजीकरण गरेकी थिइन् ।