मकवानपुर, ३२ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११, थानाभर्याङमा नवनिर्मित विद्युत प्रशारण लाइन सवस्टेशनको उद्घाटन गरेका छन् ।
नेपाल प्राधिकरणकाे ४००/२२०/१३२/११ केभी सवस्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन ठुलाे हबकाे रुपमा रहकाे बताए । नेपालकाे प्राविधिक क्षमता विकास हुँदै गएकाेले हामीले नकारात्मक साेचलाई परिवर्तन गर्न जरुरी रहेकाे उनले बताए ।
‘नेपालका तीन ठुला सबस्टेसन प्रणालीहरु मेरुदण्ड र व्याक बाेण्डकाे रुपमा रहेका छन्’ प्रधानमन्त्रीले भने ‘देशकाे विकासका लागि उत्पादित विधुत वितरण संजाल अभियानकाे रुपमा अघि बढिरहेकाे छ ।’ हाल करिव ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रणालीकाे विद्युत पुग्नु महत्वपूर्ण उपलव्धी भएकाे उनले बताए । एक वर्ष भित्र भरपर्दाे सुरक्षित विद्युत सेवा प्रसारणका लागि कार्य गरिने बताउँदै प्रधानमन्त्रीले प्रचण्डले भने ‘४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गरिनुका साथेै नेपाल भारत र बंगलादेश बिच विद्युत व्यापारमा त्रिपक्षिय सम्झाैतामा हस्ताक्षर हुनेछ ।’
आवश्यक पूर्वाधारकाे अभावमा विद्यतकाे पूर्ण खपत हुन नसकेकाेले खपतकाे क्षमता बढाउनु जरुरी रहेकाे उनले बताए । नेपालमा जलविद्युत विस्तारका लागि थप प्रक्रिया अघि बढेकाे छ तर सबस्टेसन निर्माण कार्यमा स्थानीयले बाधक पैदा गर्ने गरेकाे उनकाे भनाई थियाे । ‘आम नागरिक विद्युत विस्तारमा बाधक नभै साधक बनिदिनु पर्छ’ उनले भने ।
देशकै तेस्रो ठूलो उक्त सवस्टेशनको उद्घाटनपछि पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार आउने भएकाे छ । सवस्टेशनले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।
हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माण कार्य पूरा भइसकेको छ । हेटौंडा सवस्टेसनबाट इनरुवा सवस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरुमा ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै हेटौंडा–ढल्केबर खण्डको १३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन रहेको उनले बताए ।
नेपाल बिधुत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सभाध्यक्षता तथा प्रधानमन्त्री प्रचण्डकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री तथा नेपाल बिधुत प्राधिकरणका सन्चालक समिती अध्यक्ष शक्ति बहादुर बस्नेत, बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमकट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्ग नारायण श्रेष्ठ, मकवानपुरका संघीय सांसद दिपक कुमार सिंह, महेश बर्तौलालगायतकाे उपस्थिति रहेकाे थियाे ।