देवचुली, ३० जेठ ।
नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसंवाद गरेका छन् । देवचुली नगरपालिका – १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपश्चात किशोरी र बालबालिकाहरुसँग अन्तरसंवाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताइन् ।
सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजना अनुसारको बजेट कटौती गर्ने हुँदा आशातित काम गर्न नसकेको समेत बताइन् । अन्तरसंवाद कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिइन् । उनले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरुको साझा सपनाको रूपमा पहल गरेको, आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको र यसको दिगो सन्चालनको लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
किशोरीहरु र बालबालिकाहरुले मन्त्रीसँग बालबालिकाका विभिन्न सवालहरुमा चासो दिएका थिए । सहभागीहरुले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा संचालन गरिनुपर्ने, किशोरीहरुको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्ध गराईदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरुको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरुको व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरुको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिब र सीमान्तकृत बालबालिकालाई राज्यले निशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सबै बालबालिकाले पुग्ने गरिको लागि व्यवस्थापन गरिनुपर्ने लगायतका सवालहरु मन्त्री समक्ष पेश गरेका थिए ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनको सहयोगमा किशोरीहरु र बालबालिकाहरुको लागि सिकाई केन्द्रको निर्माण गरिरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए । नेपालमा नै यस्तो खालको संरचना अन्यत्र नरहेको र जो कोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको उनले बताए ।
कार्यक्रममा कावासोती नगरपालिका नगर उप प्रमुख फुलकुमारी थनेत, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, बाल क्लबका प्रतिनिधि , किशोरी संजालका प्रतिनिधि , आमा समूहका प्रतिनिधिलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।