प्रकृतिसँग प्रेममा पर्नु आफैंलाई प्रेम गर्नु हो भने आफन्तहरुलाई ईष्र्यालु बनाउनु पनि हो । आफन्तहरु ( श्रीमान, श्रीमती, छोरा छोरी, साथीभाइहरु) लाई दिने समय वा आफ्नाहरुसँग बिताइने समय एउटा प्रकृतिप्रेमीले घरबाट बाहिर जंगल, खोलानाला, झाडीहरुमा बिताइरहेको हुन्छ ।
बिहान सबेरै चराहरुसँगै उठ्नु, क्यामरा र बाइनाकुलर लिनु, चराहरु, रुख बिरुवा, किरा, पुतली या अन्य जंगली जनावरहरुका बारेमा लेखिएका सूचनामुलक पुस्तक, एक बोटल पानी, केही खाजा झोलामा बोक्नु, उस्तै संरक्षणमा समय दिने अन्य साथी भेट्नु वा एक्लै एकान्त स्थानमा घुमी हिँड्नु, उनीहरुको बासस्थान संरक्षण, व्यवहार अध्ययन, खानेकुरा, समूहमा हुने सदस्य संख्या गन्नु, नयाँ प्रजातिजस्तो लागेमा फोटो खिच्नु एउटा संरक्षणमा लागेको मान्छेको नियमित कार्य हो ।
ऊ संसारको जुनसुकै कुनामा गए पनि शहरको माहोलभन्दा रुख, बिरुवा, खोला, जंगलमा घुम्न रुचाउँछ । घुम्दाघुम्दै, चरा, किरा, पुतलीहरुसँग रम्दारम्दै घर समयमा जान बिर्सन्छ । कोही घरमा पर्खिरहेका छन् भन्ने भुल्छ । साथी बिर्सन्छ । कहिलेकाहीँ बिहानै घरबाट निस्केको मान्छे बेलुकी मात्र घर पुग्छ ।
समाजमा मानिसहरुको फरक दौड छ । समयमा आफ्नो ब्यपार वा जागीरमा पुग्नु, मेहनत गर्नु, पैसा कमाउनु, परिवारलाई सुख दिनु, सांसारिक या भौतिक बस्तुहरु परिवारमा थप्दै जानु, बैंक खातामा टन्न पैसा राख्दै जानु एकखाले मानिसहरुको सपना हो । यो घरपरिवारका सदस्यहरुको सपना पनि हो ।
चरा अवलोकन सबैखाले समाजका सबैजसो ब्यक्तिहरुले निश्चित समय ब्यवस्थापन गरी गर्न सकिने एउटा सजिलो, रमाइलो कृयाकलाप हो । घर वरिपरि रहेका फूलहरुमा रस खान आउने चरा, मौरी, पुतली या अन्य भँवरा जातका किराहरुको नियमित अवलोकन गरेर साथै आफ्ना स–साना नानीहरुलाई स्थानीय क्षेत्रमा पाइने विभिन्न बोटबिरुवा, फूलहरु, किराहरु र चराहरु चिनाएर, यी चरा र किरा प्रजातिले मानव जगतलाई पुर्याउने फाइदाहरु जानकारी दिएर बाबुआमा वा दाजुभाइहरुले आफ्ना छोराछोरी वा भाइबैनीलाई प्रकृतिप्रति प्रेमभाव राख्न, माया बढाउन सिकाउन सक्छन् ।
उनीहरुले दैनिक देख्ने या भेट्ने यी प्रकृतिका प्रतिनिधिहरुका बारेमा लेख्न या बोल्न प्रोत्साहित गर्ने, विद्यालयमा चरा या अन्य किरा, मौरी साथै पुतलीहरुको संरक्षण कसरी गर्न र गराउन सकिन्छ भन्नेबारे ब्यावहारिक ज्ञान दिने, विद्यालयका बगैंचाहरुमा कसरी चरा र अन्य उपयोगी किराहरु निम्त्याउन सकिन्छ भन्नेबारे जानकारी दिने गरेको खण्डमा आउँदो कलिला पुस्ताहरु प्रकृतिप्रेमी भएर हामी सबै प्राणीहरुको साझा घरको संरक्षणमा हातेमालो गर्न सक्ने हुन्छन् ।
आजकलको एउटा जटिल प्रश्न भनेको पृथ्वीलाई कसरी जोगाउन सकिन्छ ? भन्ने हो । विज्ञानका थुप्रै बिधाहरु यो प्रश्न लिएर चिन्तित छन् । अङ्ग्रेजीमा Climate change र नेपालीमा जलवायु परिवर्तनको नामबाट पृथ्वी संरक्षणको प्रयास गरिँदैछ । आजकल हामीहरु हाम्रो साझा घर आउँदो पुस्तालाई अझ सक्षम र स्वस्थ बनाएर हस्तान्तरण गर्नु पर्नेमा हरेक पुस्ताले अझै कमजोर पार्दै हस्तान्तरण गर्दैछ । वातावरणमा आएको परिवर्तनले पृथ्वीले अनौठो व्यवहार देखाउँदैछ । चरा, किराहरु र अन्य जंगली जनावरहरु बिस्तारै लोप हुँदैछन् । रुख बिरुवाहरुको अनावश्यक कटान गर्दै विकासको नाममा विनास निम्त्याउँदै छ सरकार ।
महानगरपालिका र नगरपालिकाहरुमा वातावरण संरक्षणमा काम गर्ने विभागहरु छन् तर निस्कृय छन् । विकास भनेको छोटो समयका लागि होइन । यसले लामो समयसम्म प्रतिकुल प्रभाव नपार्ने हुनुपर्छ । सडक वरपरका रुख, चौतारोहरु काटेर, मासेर सडक ठूलो बनाउँदैमा विकास भएको मानिँदैन। विकास भनेको शहरलाई विकसित गर्दै हरियो शहर बनाउनु हो ।
फराकिला सडकहरुका बिचमा र छेउछाउमा रुख बिरुवाहरुको उचित ब्यवस्थापन नगरी गरिएको विकासले छिट्टै कुनै एक मात्र नभई अनेक विनास निम्त्याउन शुरु गर्छ जसको अन्त छिटै सम्भव छैन ।
सडकहरु चौडा निर्माण गर्ने, सडकका लेनहरुका बिचमा र छेउछेउमा फल दिने बिरुवाहरु लगाएर हरियो वातावरण निर्माण गर्ने, ती रुखहरुमा र झ्याङहरुमा चराहरुका लागि सुरक्षित बासस्थान साथै खानका लागि फलहरु फल्न दिने अवस्था सृजना गर्ने, चरा, किरा या पुतलीहरु समात्न या मार्न नपाइने नियम कडाईका साथ लागू गर्ने, साथै अन्य थुप्रै शहर हरियो राख्ने अवस्थाहरुको सृजना गर्नेबारे स्थानीय सरकारहरुले सोच्ने मात्र नभएर योजनामा पारेर कार्यान्वयन गर्नु पर्ने अवस्थालाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।
विद्यालय शिक्षामा “हरियो वन, नेपालको धन” को नारा मात्र कण्ठ गराउनुभन्दा यसलाई कसरी ब्यावहारिक बनाउन सकिन्छ, हरेक नागरिकले के गर्न सक्छ, हरेक विद्यार्थीले कसरी वातावरण संरक्षणमा भूमिका खेल्न सक्छन् भन्नेबारे ब्यावहारिक शिक्षा उपलब्ध गराउनु जरुरी देखिन्छ ।
स–साना विद्यार्थी भाइबैनीहरु, माध्यामिक तह र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्थानीय क्षेत्रमा प्रकृति संरक्षणका लागि सहभागिता जनाउन पहल गर्न विद्यालय वा कलेजले प्रयास गर्न पनि जरुरी छ । यो कार्यले उनीहरुमा प्रकृति संरक्षणमा हामी सबैको उत्तिकै भूमिका हुन्छ भन्ने कुरा सिक्ने अवसर प्रदान गर्छ ।
विद्यालय शिक्षा कक्षाकोठामा मात्र सीमित गर्दा सिकाई त्यति प्रभावशाली नहुने तथ्य पुष्टि भैसकेको छ । हाम्रा कक्षाकोठामा विद्यार्थीहरुको सकृयता समय निकै थोरै हुने र शिक्षकको सकृयता धेरै नै हुने पाइएको छ । यसरी थोरै सकृय भएर गरिने अध्ययनमा विद्यार्थीहरुको अनुभव र ज्ञान एक आपसमा बाँडफाँड नहुने, कुनै कार्यको कस्तो प्रभाव पर्न सक्छ भन्ने कुराको ज्ञान अनुभव गर्ने अवसर नपाइने हुँदा विद्यार्थी सिकाई सतही हुने र यस्ता सतही ज्ञानहरु लामो समयसम्म स्मृतिमा नरहने पाइएको छ ।
कुनै नयाँ ज्ञानको सिकाईमा केही चरणहरु महत्वपूर्ण मानिएको छ । – ब्लुम टेक्सनोमी
१. याद
२. सम्झना
३. लागू
४. विश्लेषण
५. मूल्यांकन
६. सिर्जना
हाम्रो कक्षा शिक्षणमा धेरैजसो पहिलो दुईलाई धेरै मान्यता दिइएको पाइएको छ । विद्यार्थी भाइबैनीहरुले शिक्षकले पढाएको याद गर्न सके र सम्झन सकेमा शिक्षण सिकाईले पूर्णता पाएको मानिन्छ । यी दुई कार्यले शिक्षकले कक्षाकोठामा अध्यापन गरेका कुराहरु विद्यार्थीहरुले याद गर्ने, परीक्षाको समयसम्म सम्झने, परीक्षामा उच्च अंक प्राप्त गर्ने पाइएको छ ।
ती विद्यार्थी भाइबैनीहरुमा कक्षाकोठामा सिकेका ज्ञान लागू गर्ने, विश्लेषण गर्ने, मूल्यांकन र सृजना गर्ने सीपहरुको विकास भइरहेको पाइँदैन । यी बाँकी सीपहरुको विद्यार्थीमा विकास नहुँदा कक्षाकोठामा सिकेका ज्ञान छोटो समयमै बिर्सने, उक्त ज्ञान वा सीपलाई आफ्नो ब्यक्तिगत जीवनमा प्रयोग गर्न नसक्ने र विद्यालयको सिकाई सतही भएर जीवन उपयोगी नहुने पाइएको छ ।
त्यसैले कक्षाकोठाको सिकाईलाई ब्लुम्स टेक्सनोमीका ६ वटै महत्वपूर्ण बुँदाहरु समेटेर अध्यापन गराउँदा सबैजसो विषयहरुमा प्रभावकारी सिकाई हुने, प्रकृति संरक्षणमा जोड्न सकिने हुन्छ । यसले उक्त सिकाई गहनसमेत हुन्छ । यसरी सिकाई गरेका विद्यार्थी भाइबैनीहरुले आफ्नो सिकाईलाई ब्यक्तिगत, सामाजिक, राष्ट्रिय साथै अन्तर्राष्ट्रिय परिवेशमा जोड्न सक्छन् ।
कक्षा कोठाको सिकाई अझै प्रभावकारी पार्न केही अन्य बुँदाहरु पनि सँगै समावेश गर्न सकिन्छ :
१. कक्षाकोठामा छलफल विधिको प्रयोग
२. समूह कार्यमा जोड
३. सृजनशीलता र कल्पनाशक्तिको प्रयोग
४. महत्वपूर्ण सोचाई र समस्या समाधान
५. प्रविधिको प्रयोग
६. पृथ्वी साझा घरको अवधारणा
७. नेतृत्व विकासको अवसर
कक्षाकोठामा अध्ययन अध्यापन गर्दा धेरै समय विद्यार्थी सृयतालाई जोड दिएर माथिका बुँदाहरु आवश्यक अनुसार प्रयोग गर्ने अवसर विद्यार्थीहरुलाई शिक्षक साथीहरुले उपलब्ध गराउनु आवश्यक छ । चरा, किराहरु, बिरुवाका जातहरुको अवलोकनले संरक्षणका लागि भावी पुस्ता तयार पार्ने मात्र होइन बरु युवा, प्रौढ र वृद्धहरुलाई स्वस्थ राख्न पनि उत्तिकै महत्व राख्छ । प्रौढ र वृद्ध ब्यक्तिहरुलाई प्रकृति अवलोकनले स्वस्थ, फुर्तिलो, ध्यानजस्तै वातावरण प्रदान गर्छ ।
चरा तथा अन्य किराहरु र बोटबिरुवाहरुसँग नजिक हुँदै गर्दा ब्यक्तिले उनीहरुसँग दोहोरो संवाद गर्न सक्ने क्षमताको पनि विकास गर्न थाल्छ । आफू र आफ्नो वरिपरिको वातावरणसँग नजिकिन थाल्छ । उसलाई वातावरणमा केही पनि हामीलाई हानि पु¥याउने कुराहरु हुँदैनन् र हामी मानवहरु अन्य जनावर र बिरुवाका लागि हानिकारक हुन्छौं तर उनीहरु हाम्रा लागि हानिकारक हुँदैनन् भन्ने बुझाई शुरु हुन्छ । हामीले उनीहरुलाई प्रेम गर्न जान्यौं भने उनीहरुले पनि हामीलाई प्रेम गर्न शुरु गर्छन् भन्ने अकाट्य सत्य कुराको जानकारी पाउँछन् ।
चरा अवलोकन सहज बनाउने अर्को साधन हामीसँग हुने मोबाइल फोन पनि हो । विशेषतः झाडी र बुट्यान अनि अग्ला घाँसमा हुने स–साना प्रजातिका चराहरु अवलोकन गर्दा या अन्य प्रजातिका सजिलै देख्न नसकिने चराहरु अवलोकन गर्दा हामी चराहरुको आवाज मोबाइलमा बजाउन सक्छौं । यसो गर्दा चराहरुको चाल अलि धेरै बढ्न थाल्छ र उनीहरु पनि आवाज निकाल्दै वरिपरि देखा पर्न थाल्छन् । यसले चरा अवलोकनलाई सजिलो बनाउँछ तर यस्तो कार्य त्यति धेरै गरिरहनु अवश्य राम्रो होइन ।
स्थानीय सरकार जनताको मात्र सरकार हैन । त्यस क्षेत्रमा रहेका किरा, फट्याङ्ग्रादेखि त्यस क्षेत्रका हरेक रुख, बिरुवा, जनावर, चराहरु र त्यहाँका वातावरणमा आश्रित सम्पूर्ण जीवित र निर्जीव वस्तुहरुको पनि सरकार भएका कारण उक्त स्थानीय सरकारले सम्पूर्ण आफ्नाहरुको संरक्षणमा ध्यान पुर्याएर वार्षिक खर्चको बाँडफाँट गर्दै कार्ययोजना बनाउनु श्रेयस्कर हुन्छ ।
जबसम्म सरकारले आफ्नो क्षेत्रको वातावरण संरक्षणमा ध्यान पु¥याउन सक्दैन र मानवहितको प्रत्यक्ष देखिने क्षेत्रमा मात्र बजेट बिनियोजन गर्छ, उक्त सरकारले आफ्नो स्थानीय क्षेत्रको दिगो विकासमा कार्य गरेको मानिँदैन । सरकार बन्नु भनेको आफ्नो मातहतको क्षेत्रमा रहेका सम्पूर्ण जीवित र निर्जीव बस्तुहरुको संरक्षण र विकासमा लागी पर्नु साथै स्तरोन्नति गर्न सक्नु हो ।
भोलिका सरकारमा जानेहरु भनेका आजका विद्यार्थी भाइबैनीहरु हुन् । त्यसकारण उनीहरुलाई दिइने शिक्षा ब्यक्तिगत सिकाईलाई भन्दा सामुहिक सिकाईलाई जोड दिने हुनुपर्छ । समूह विभाजन गर्ने, समूहमा सिक्ने वातावरण तैयार गर्ने, आफ्ना विचारहरु एक आपसमा शेयर गर्ने वातावरण उपलब्ध गराउने, स्थानीय प्राकृतिक श्रोतहरुको अवलोकन गर्न लगाउने, स्थानीय क्षेत्रमा पाइने रुखबिरुवा, वनस्पति, चरा, पुतली, किराहरुको पहिचान गराउने, उनीहरुको हाम्रो जीवनमा महत्व के छ र उनीहरुको संरक्षणमा हामी के गर्न सक्छौं भन्ने कुराको सिकाई गहन गराइने वातावरण कक्षा कोठाभित्र र बाहिर उपलब्ध गराउने कार्यमा स्थानीय सरकारले मुख्य भूमिका खेल्न सक्नु पर्छ । यसरी उचित शिक्षा पाएका विद्यार्थीहरु भोलि जिम्मेवार ब्यक्ति हुन जान्छन् र शिक्षाको सही प्रतिफल राष्ट्रले र ब्यक्तिले पनि महसुस गर्न सक्छन् ।