मकवानपुर, २७ जेठ ।
मकवानपुरको मनहरिमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । मनहरि गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले गाउँको विकासका लागि सक्दो सहयोग गर्ने बताए । विकास निर्माणका कार्यमा सधैँ जनताको साथमा रहेको प्रतिक्रिया दिए ।
पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिबार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भई उद्घाटन गरिएको थियो । सांसद बानियाँले वडा नम्बर १ र २ जोड्ने च्यापल खोला पुल, वडा नम्बर ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नम्बर ४ र ५ जोड्ने ट्वाङग्राखोलाको पुल उद्घाटन गरेका हुन् ।
गाउँपालिकाले बितेको आर्थिक वर्ष ०७७–०७८ मा आन्तरिक स्रोतबाट पाँच वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेको थियो ।
अन्य दुई वटा पुलको निर्माण कार्य मङ्सिरसम्म सम्पन्न भइसक्ने मनहरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिर्दै उनले स्थानीय सरकारको आन्तरिक स्रोतबाट जनताका लागि ठुलो काम गर्न सकिएको बताए ।
पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले पुल नहुँदा विद्यार्थीले धेरै समस्या भोग्नु परेको स्मरण गर्दै ट्वाङ्ग्रा खोलामा विद्यार्थी तार्नका लागि शिक्षकहरू नै खटाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले ग्रामीण क्षेत्रमा भएको विकासको प्रशंसा समेत गरे । पुल बनेपछि यहाँका स्थानीयवासी पनि खुसी भएका छन् । विद्यार्थी आवतजावत गर्न, यहाँको उत्पादन बजारीकरण गर्न र सुत्केरी हुँदा स्वास्थ्य संस्था सम्म सहज जानका लागि पुलका कारण सहज भएको यहाँका स्थानीयवासीको भनाइ छ ।