भरतपुर, २६ जेठ ।
भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर–१३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्यांकनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो ।
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके÷हवेली) मा भएको अन्तिम प्रतियोगितामा नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङका हरिप्रसाद पौडेल तेस्रो भए । सुनसरीका मुक्ति पोखरेल र बाँकेकी पद्मावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीकी सचिव रमना अधिकारीले जानकारी दिइन् । उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि वरिष्ठ साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार केशवराज भट्टराई आमोदीसहितको मूल्यांकन समिति बनाइएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरि श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि प्रा.डा. देवी नेपालको सहभागिता रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए ।