भरतपुर, २६ जेठ
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर जीवन जीवन्तको उपन्यास चरैवेतिमाथि शनिबार सम्पूर्ण किताब नारायणगढमा अन्तरक्रिया गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको अन्तरक्रियामा समीक्षकहरु डा. देवी नेपाल, अम्बिका अर्याल, शान्तिमाया गिरी, अशोक थापालगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै धार्मिक विषयमा कलम चलाएर लेखकले जोखिम मोलेको प्रतिक्रिया दिए ।
चरैवेतिमाथि पाठकीय टिप्पणी गर्दै लेखक खनाल रेवतीरमणले उपन्यासको भाषा, शैली स्तरीय र बोधगम्य भएको बताए । ‘यसमा भरपुर जीवनदर्शन छ’ उनले भने, ‘सुन्दर ढंगले इसाई धर्मको शल्यक्रिया गरिएको छ ।’
वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातबाट सहजीकरण गरिएको कार्यक्रममा सम्पूर्ण किताबका लेखराम सापकोटा, भरतपुर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलिया, समीक्षक उदय अधिकारी, व्यवसायी गीता पौडेल ढकाललगायतले बोलेका थिए ।
धर्मान्तरणको चर्चा
उपन्यास चरैवेतिमाथि शुक्रबार आँबुखैरेनीमा पनि छलफल गरिएको छ । आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उपन्यासले धर्मान्तरणको विषय उठान गरेको भन्दै चर्चा भएको थियो ।
स्रष्टा समाजको वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । चरैवेति संवाद नाम दिइएको अन्तरक्रियालाई त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर अशोक थापाले सहजीकरण गरेका थिए । थापाले चरैवेति उपन्यासमाथि केन्द्रित रही समीक्षकद्वय डाक्टर शान्तिमाया गिरी र अर्जुनकुमार ढकाल एवं लेखक जीवन जीवन्तलाई विभिन्न प्रश्न गरेका थिए ।
कार्यक्रममा बोल्दै समीक्षक रमेश प्रभातले चरैवेतिमा धर्मान्तरणको मुद्दा बलियोसँग उठान भएको बताए । धार्मिक विषयमा गहन अध्ययनपछि लेखकले पाठकसामु चरैवेति उपन्यास ल्याएको उनको भनाइ थियो ।