काठमाडौंबाट चितवनको नारायणगढहुँदै पाल्पा जाँदा बुटबल त पुग्नै पर्दछ । नारायणगढदेखि बुटबल पुग्ने बाटोको बयान के गरी साध्य छ र अहिले ? ११५ किलोमिटर दुरी छिचोल्न कम्तीमा पाँच घण्टा लाग्दछ । समयको कुरा मात्रै हैन, सास्ती पनि कम छैन । धुलाम्य सडकको सकस बेहोरेकाहरु अत्यावश्यक नभई यो बाटोहुँदै दोहोर्याएर कमै यात्रा गर्लान् । यस्तो बेला कोही पाल्पा जाँदै छ भने भरतपुर एयरपोर्टमा किन उत्रेला ? काठमाडौंबाट जहाजमै जाने भए भैरहवा नै गए भयो ।
तर अर्थमन्त्री भएका बेला गएको पुस २० गते नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले फेसबुकमा एउटा पोष्ट राखे ‘भरतपुर विमानस्थल चितवनमा, पाल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा’ भन्दै । यो पोष्ट पढ्दा लाग्छ, सायद अर्थमन्त्री नारायणगढ – बुटवल सडकको दुरावस्था नियाल्दै पाल्पा पुग्ने भए । त्यसपछि भैरहवा हुँदै काठमाडौं फर्कने होलान् । तर त्यसो थिएन । भरतपुरबाट हिँडेका महतले पुस २० का दिन कम्तीमा ६ वटा कार्यक्रममा भाग लिएको उनले त्यस दिन गरेको लगातारका पोष्टहरुले देखाउँछ ।
पाल्पातिर त्यति व्यस्त भएका नेता महत पुस २१ गते बिहान गैंडाकोटको मौलाकालिका केवलकार चढ्न पनि भ्याएका छन् । दिउँसोतिर नारायणगढको क्षेत्रपुरमा आयोजित चितवन उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गरेर उनी भरतपुरबाटै काठमाडौं फर्के । नारायणगढ बुटबल सडक पार गरेर पाल्पा पुगी फेरि चितवन नै फर्केर २४ घण्टाको फेरोमा यति धेरै कार्यक्रम गर्न सम्भव छ जस्तो लाग्दैन । तर ‘सचेत’ चितवनका कुनै काँग्रेस नेताले आफ्ना नेता महतलाई सायदै सोध्यो कि, ‘हैन तपाइँले यसो गर्न कसरी सम्भव भयो ?’
व्यपारीहरु, उद्योगीहरु नयाँ सम्भावनाको खाजीमा हुन्छन् । तर चितवनका ‘व्यस्त उद्योगी व्यवसायी’लाई फेसबुक खोलेर त्यहाँ कसले के लेख्यो या सामाजिक सञ्जालमा हाम्रा अर्थमन्त्री अझ भनौं कार्यक्रममा प्रमुख अतिथिले के लेखे भनेर हेर्ने फुर्सद झनै कहाँ थियो होला र ? हेरेको भए चितवन उद्योग वाणिज्य संघको अधिवेशनका बारेमा अरु कुराको भन्दा अर्थमन्त्रीको त्यही अघिल्लो दिनको फेसबुक स्टाटसको चर्चा हुन्थ्यो होला ।
उद्योगी व्यवसायीले पक्कै भन्थे होलान् ‘लौ न अर्थमन्त्रीज्यू, यो नारायणगढ बुटबल सडकको बेहालले हुनुसम्म हैरान भइयो । तर तपाइँ किन पाल्पा जान भरतपुर विमानस्थलमा ओर्लनु भयो ? र यति चाँडो त्यति धेरै कार्यक्रम भ्याएर फेरि चितवन नै फर्कनु भयो ।’
नेता व्यवसायीले मात्रै हैन, कार्यक्रममा मुलुकको आर्थिक अवस्थामा आशा गर्न लायकको सुधार भएको छ भनेर भाषण गरेका तत्कालीन अर्थमन्त्री महतले समेत भरतपुर पाल्पा यात्राबारे केही बोलेनन् । उनले यसबारे बोलेको भए निरासाबीच एउटा राम्रो सम्भावना उजागार हुने थियो ।
नारायणगढबाट पश्चिम लागेको पूर्वपश्चिम महेन्द्रराजमार्गको बुटवलसम्मको बेहाल र कष्टका बारेमा अचेल हरकोहीले चर्चा गर्दछन् । बिस्तारको काममा अति नै बिलम्ब हुँदा यात्रुहरुले हुनसम्मको हैरानी र दिक्दारी पाएका छन् । तर यो बेहाल सडकको समानान्तर महाभारत पहाडको पल्लो पाखो कालीगण्डकी नदीको किनारै किनार बनेको अर्को बाटोको ख्याल कमैलाई छ । काँग्रेस नेता महत त्यही सडक हुँदै चितवनबाट सजिलै पाल्पा पुगेर फेरि आरामले चितवन नै फर्केका थिए ।
नारायणगढसँग जोडिएको नवलपरासीको गैंडाकोटबाट उत्तर पश्चिम लागेको कालीगण्डकी करिडोर सडकले धेरै सम्भावनाहरु ल्याएको छ । तर यसबारे चितवनमा त्यत्ति चासो चर्चा देखिँदैन । यो सडकले चितवनलाई पाल्पासँग मात्रै हैन स्याङ्जा, गुल्मी, बाग्लुङहुँदै मुस्ताङसम्म जोड्छ ।
चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका डिन डा.अर्जुन श्रेष्ठले स्याङजा चापाकोटमा रहेको कृषि क्याम्पस जान यही बाटो रोज्ने गरेको र तीन घण्टामा चापाकोट पुगिने बताए । चितवनको कुनै उपल्लो निकायको व्यक्तिले यो सडकको फाइदा उपयोग गरेको भनेर सुनाएको सायद यो नै होला । चितवन चेम्बर्स अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले पनि स्याङ्जा गल्याङको आफ्नो पुख्र्यौली थलो जाँदा यही बाटो हिँडेको बताउँछन् । तर यस बाटोबाट चितवनले देखेको सम्भावनाका बारेमा चितवनमा कुनै व्यापक चर्चा छैन ।
गैंडाकोटदेखि पाल्पा रामपुरसम्मको सडक निकै राम्रो छ । लगभग सय किलोमिटरसम्मको या खण्डको काम ९९ प्रतिशत सकिएको छ । नवलपरासीको उत्तरी पहाडी गाउँ जो कालिगण्डकी किनारमा छन् बुलिङटार, डेढगाउँका बासिन्दाको बजार जाने किनमेल गर्ने थलो अब चितवन भएको छ । तनहुँकै दक्षिण पश्चिम क्षेत्रका इलाकाहरु घिरिङ, पुट्टारका लागि पनि अब चितवनको बजार नजिक भएको छ ।
पुट्टारमा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । नजिकको बजार पाल्पाको रामपुर भए पनि सडक राम्रो भएका कारण दुई अढाई घण्टामा गाडीमा तरकारी राखेर चितवन नै पुग्न सकिन्छ । यत्ति नै समय तनहुँ सदरमुकाम दमौली पुग्न र अरु ठुला बजार बुटवल या पोखरा पुग्न लाग्दछ । त्यसैले राम्रो मूल्य र माग जता छ त्यतै तरकारी बोकेको गाडी लैजान पाइयो भन्दै पुट्टारको कालीगण्डकी कृषि उपज संकलन केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर शाहीले खुसी व्यक्त गरे ।
टेकनाथ सिग्देल नवलपरासीको बुलिङटार गाउँपालिका–३ लगाडमा होटल र लज चलाउँछन् । लगाडदेखि दक्षिणमा रहेको महेन्द्रराजमार्ग आडको नवलपरासीकै दलदले बजार त्यहा“बाट ३८ किलोमिटर पर छ । नारायणगढको पुलचोक ५२ किलोमिटर टाढा छ भन्छन् सिग्देल । त्यसैले उनी दलदले नझेर किनमेलका लागि सिधै चितवन लाग्छन् ।
म ५६ सालको फागुन अन्तिमतिर दलदलेबाट मुण्डेहुँदै बुलिङटार र त्यस वरपरका पहाडी गाउँ पुगेको थिएँ । मुण्डेबाट माथि लागेपछि पहाडि बाटोमा पैदलै हिँड्नुको विकल्प थिएन । त्यो बेला बुलिङटार पुग्दा मोटर गुड्ने सडक बन्ला भन्ने कल्पना गर्न पनि सकिँदैनथ्यो । बुलिङटारमा हुने खानेहरुले बरु घोडा चढेको भेटिन्थ्यो । तर १२ वर्षपछि ६८ सालमा मुण्डे हुँदै उत्तरका पहाडी गाउँ जाँदा जीप दौडने बाटो खुलिसकेको थियो । ७२ सालको बैशाख आठ गते मिनी बस नै चढेर पहाडी गाउँ डुल्दा दंग परेको थिएँ ।
७५ सालको हिउँदमा जीप चढेरै बुलिङटार पुग्दा तत्कालिन गाउँपालिका अध्यक्षले अब चाँडै नारायणगढदेखि कालिगण्डकीको किनारै किनार कार मै बुलिङटार आउन पाइने र महेन्द्रराजमार्ग प्रयोग गर्न नपर्ने बताएका थिए । त्यो बेला पनि यस्तो होला र भन्ने शंका मनमा थियो । तर अहिले साना ठुला सवै खाले गाडी कुदेको देख्दा छक्कै परिन्छ ।
आर्थिक वर्ष ०६७/६८ बाट ट्रयाक खन्न सुरु भएको कालिगण्डकी करिडोर सडकको गैंडाकोटदेखि पाल्पा रामपुर पिपलडाँडा १३२ किलोमिटर सडकको लगभग काम पूरा भएको छ । यो करिडोरको १५० किलोमिटरभित्र पाल्पाको रानी महल नै पर्दछ । त्यसपछि गुल्मीको रिडी हुँदै उत्तर लागेको यो सडकको एउटा खण्ड बाग्लुङ मालढुंगामा गएर सकिन्छ । र अर्को खण्ड झनै उत्तर लाग्छ ।
गैंडाकोट मालढुंगासम्म २४० किलोमिटर रहेको यो सडक मुस्ताङसम्म पुग्दा ५९३ किलोमिटरको हुनेछ । ११ मिटर चौडा सडकमा सात मिटर कालोपत्रे छ । हरिया पहाड र कलकल बगेको कालीगण्डकीको किनारै किनार जान्छ । यात्रा गर्दा मनै आनन्दित हुन्छ ।
तत्कालका लागि नवलपरासीको कालिगण्डकी किनारका पहाडी गाउ र पाल्पा स्याङ्जा ओहर दोहरका लागि निकै सहज भएको यो सडकले भविश्यमा झनै वृहद सम्भावना बोकेको छ । चितवनलाई देशका ठुला सहरसँग जोड्ने सडकहरुको अवस्था दुरावस्थाहरुको निकै चर्चा हुन्छ । तर उत्तरका पहाडी भेगसँग जोड्ने कालिगण्डकी करिडोरलाई चितवनको उन्नति प्रगतिसँग कसरी जोड्न सकिन्छ भनेर खै किन हो, कोही चाइँचुईं पनि गर्दैनन् ।
तस्बिरहरु : रमेशकुमार पौडेल