आँबुखैरेनी, २५ जेठ ।
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर जीवन जीवन्तको उपन्यास चरैवेतिमाथि शुक्रबार आँबुखैरेनीमा अन्तरक्रिया गरिएको छ । आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उपन्यासले धर्मान्तरणको विषय उठान गरेको भन्दै चर्चा भएको थियो ।
स्रष्टा समाजको वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा शनिबार स्रष्टा सम्मानको कार्यक्रमसमेत रहेको श्रेष्ठले बताए ।
चरैवेति संवाद नाम दिइएको अन्तरक्रियालाई त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर अशोक थापाले सहजीकरण गरेका थिए । थापाले चरैवेति उपन्यासमाथि केन्द्रित रही समीक्षकद्वय डाक्टर शान्तिमाया गिरी र अर्जुनकुमार ढकाल एवं लेखक जीवन जीवन्तलाई विभिन्न प्रश्न गरेका थिए । कार्यक्रममा बोल्दै समीक्षक रमेश प्रभातले चरैवेतिमा धर्मान्तरणको मुद्दा बलियोसँग उठान भएको बताए ।