रत्ननगर, २५ जेठ ।
रत्ननगर नगरपालिका र रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको रत्नप्रभा विमोचन तथा स्रस्टा सम्मान गरिएको छ । कला र साहित्यको संरक्षणको लागि रत्ननगर वाङ्मय प्रतिष्ठानको मुखपत्रको रुपमा प्रकाशित रत्नप्रभाको विमोचनसँगै ४ जना स्रस्टालाई सम्मान गरिएको हो ।
उक्त समारोहमा गैंडाकोट नगरपालिका निवासी वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ५० हजार राशीको अक्षराश्री पुरस्कार २०८१ प्रदान गरिएको छ । त्यस्तै रत्ननगर नगरपालिका- २ टाँडी निवासी साहित्यकार तिलकराज शर्मा पौडेललाई २० हजार राशीको सुमेधाश्री सम्मान २०८१, रत्ननगर- २ टाँडीकै गिरिधारी विशिष्ठलाई २० हजार राशीको रत्ननगर वाङ्मय सम्मान २०८१ प्रदान गरिएको छ । रत्ननगर २ टाँडी निवासी गायक संगीतकार उदय मानन्धरलाई १५ हजार राशीको गायनकला सम्मान २०८१ प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकामा मेयर प्रलाद सापकोटा र रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले सबै स्रस्टालाई सम्मान गरेका थिए । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकमाथि प्रकाश पार्दै गीत, कविता, लेख, निबन्धमार्फत कला संस्कृतिको संरक्षण र समग्र जिल्लाको विशेषता झल्काउने कोसिस गरिएको बताए । कार्यक्रममा मेयर सापकोटाले कला र साहित्समार्फत रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने कोसिस भइरहेको बताए ।
रत्ननगरको विकासमा कवि तथा साहित्यकारहरुको भूमिका अहम हुने भन्दै उनले साहित्यकारहरुले आफ्ना रचनालाई कृषि र पर्यटनसँग जोड्न सुझाव दिए । कार्यक्रममा पाण्डुलिपि प्रकाशन तथा मूल्याङ्कनका आधारमा लेखकहरुलाई पारिश्रमिक समेत प्रदान गरिएको छ । मोदनाथ मरहट्ठा, लक्ष्मण अर्याल, विश्वनाथ खनाल, राजेन्द्र घायल र मुकुन्द पौडेलले पाण्डुलिपि प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका सभाषद् रामहरि श्रेष्ठ, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईँ, साहित्यकार डिआर पोखरेल, लकास शर्मा पौडेल, प्राडा नारायणप्रसाद खनाललगायतले मन्तव्य राखेका थिए । रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गरेका थिए ।