भरतपुर, २५ जेठ ।
चितवनमा रगतको अभाव खड्किरहेको वर्तमान समयमा मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला समिति चितवनले १९औं स्थापना दिवसको अवसर पारी खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर अस्पतालको परिसरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा कुल ३२ जनाले रक्तदान गरेका छन् । दुई महिलासहित ३० जना पुरुषले रक्तदान गरेको उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेल रहेका थिए ।
उक्त कार्यक्रममा भरतपुर अस्पताल सामाजिक सेवा इकाइ प्रमुख रामहरि ढकाल, मेलानका केन्द्रीय सदस्यद्वय सुरज अधिकारी र विष्णुप्रसाद बास्तोला, प्रादेशिक प्रयोगशालाका उपप्रमुख मेडिकल टेक्नोलोजिस्ट अनिलकुमार यादव, भरतपुर अस्पतालका प्रयोगशाला विभागीय प्रमुख डाक्टर सञ्जीव परियार, अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सञ्जय बराललगायतको उपस्थिति रहेको थियो ।
मेलान चितवनका अध्यक्ष मणिराम महतोको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । मेलान चितवनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।