भरतपुर, २३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा भरतपुरस्थित अर्किड माविका विद्यार्थीले विविध कार्यक्रम आयोजना गरेका छन् । वातावरण दिवसका अवसरमा विद्यार्थीले वृक्षरोपण र सरसफाइसँगै साइकल र्याली पनि गरे । विश्व साइकल दिवसको सन्दर्भलाई जोड्दै उनीहरूले साइकल र्याली निकाले ।साइकलद्वारा स्वस्थ, समता र दिगोपन प्रबर्द्धन गरौँ भन्ने नारालाई अनुसरण गर्दै शिक्षक, विद्यार्थीको व्यापक सहभागितामा ३ जुन अर्थात सोमबार साइकल र्याली सम्पन्न गरिएको कार्यक्रम संयोजक एवम् शिक्षिका प्रतीक्षा श्रेष्ठले बताइन् ।
त्यसैगरी ५२ औँ विश्व वातावरण दिवसको अवसरमा हाम्रो भूमि हाम्रो भविष्य नारालाई आत्मसात गर्दै सदाझैँ यस वर्ष पनि सम्पदा सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको शिक्षिका सावित्री छेत्रीले बताइन् । जस अनुसार भरतपुर क्षेत्रका मठमन्दिर वरपर विद्यार्थीको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो ।
वातावरण दिवसलाई अर्थपूर्ण रूपमा मनाउन साना बालबालिकाहरूद्वारा विद्यालय परिसर भित्र फूल तथा अन्य बिरुवासहित वृक्षरोपण कार्यक्रम पनि गरिएको शिक्षिका प्रतीक्षा पनेरूले बताइन् ।
कार्यक्रमलाई सहभागितामुलक बनाउन, पोस्टर प्रदर्शनी प्रतियोगिता, खेर गएका बस्तुको विवेकपूर्ण प्रयोगका लागि जन्क आर्ट प्रतियोगिता पनि गरिएको थियो ।
प्रतियोगितात्मक धारमा गरिएको कार्यक्रमले प्रतिस्पर्धा र रोचकतासँगै वातावरण संरक्षणमा रचनात्मक सचेतता वृद्धि हुने अपेक्षा लिइएको श्रेष्ठले बताइन् ।