भरतपुर, २३ जेठ ।
विश्व साइकल दिवस- २०२४ को अवसर पारेर चितवनको भरतपुरमा सोमबार बृहत् साइकल र्यालीको आयोजना गरिएको छ । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीको आयोजना, चितवन साइकल राइसर्ड क्लबको सह-आयोजना तथा भरतपुर महानगरसँगको सहकार्यमा बृहत् साइकल र्यालीको आयोजना गरिएको हो । साइकल चलाउने संस्कृतिलाई प्रबर्द्धन गरी वातावरण संरक्षण प्रति समुदायलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त साइकल र्यालीमार्फत भरतपुर भ्रमण वर्ष २०२४ को ‘घुमौँ भरतपुर’ अभियानलाई पनि प्रबर्द्धन गर्ने उद्देश्य आयोजकले लिएको छ ।
अङ्कुरम् एकेडेमीदेखि सुरु भएको उक्त र्याली वनदेवी गेट, बीस हजार ताल, बाटुलीताल, छितामाइ हुँदै लेक ट्वान्टी थाउजेन्ड एण्ड फार्म रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । उक्त र्यालीको दुरी करिब २८ किलोमिटर रहेको छ ।
साइकल र्यालीका लागि एलाइभ हस्पिटल प्रालिको चिकित्सा सहायता, एम्बुलेन्स चालक संघ चितवनको एम्बुलेन्स सहयोग, डी.आर. साइकल स्टोर्स नारायणगढको मर्मतसम्भार सौजन्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तर्फबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्रप्रसाद कुर्मी नेतृत्वको टोलीले एस्कर्टिङ गरेको थियो ।
अङ्कुरम् एकेडेमीका तह प्रमुख अर्जुन शर्माले संयोजन गरेको उक्त कार्यक्रममा चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँ, अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेल, भरतपुर महानगरपालिका विस्तारित शिक्षा इकाइका प्रशिक्षक गुरुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो भने र्यालीका सहभागीलाई गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले मोही खुवाएको थियो ।