कालिका, २० जेठ ।
चितवनको कालिका नगरपालिका वडा नम्बर २ स्थित आधारभूत विद्यालय सहपुरमा नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ ।
कालिका भजन समुह र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सर तथा पेट, छाती र टाउको सम्बन्धि नि:शुल्क स्वास्थ्य जाँच भएको थियो ।
शिविरमा कालिका नगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ का करिब दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
कालिका भजन समूहका अध्यक्ष एकानन्द उपाध्यायको अध्यक्षता रहेको कार्यक्रममा कालिका-२ का वडा अध्यक्ष लक्ष्मण पौडेल प्रमुख अथिति थिए ।
लामो समयअघिदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको कालिका भजन समूहले करिब एक वर्षको समयमा गरेको यो आठौं सामाजिक कार्य हो ।
गत वर्ष धर्म र संस्कृतिको संरक्षणका लागि भन्दै खेलिएको देउसीभैलोबाट संकलित रकमबाट शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक गोपालप्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कालिका भजन समूहले सक्रियतापूर्वक सामाजिक कामहरु गर्दै आइरहेको र न्युनस्तर भएका वडाबासीहरुका लागि यो शिविर अत्यन्तै लाभदायक रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य केशव चालिसेले राखेका थिए ।