मकवानपुर, २० जेठ ।
नेकपा एमाले मकवानपुरको नेतृत्व चयनका लागि आइतबार दिउँसाेबाट मतदान भइरहेकाे छ । एमाले मकवानपुरकाे १२ औं अधिवेशनले ५ पदाधिकारीसहित १०० सदस्यीय कमिटी निर्वाचन गर्ने छ । १ पदमा उम्मेदवारी बढी दर्ता भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनकाे प्रक्रिया अघि बढाइएको हो ।
एमाले मकवानपुरको १२ औँ अधिवेशन १८ गते शुक्रबारबाट सुरु भएकाे हाे । अधिवेशन अन्तरगत शनिबार निर्वाचन प्रक्रिया सुरु भएकाे हाे । एमाले मकवानपुरकाे अध्यक्ष पदका लागि शनिबार ५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन अघि अध्यक्ष पदका उम्मेदवार रघुनाथ खुलालले मनोनयन फिर्ता लिएका थिए । अध्यक्ष पदमा श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी कायम भएपछि शनिबार दिउँसोबाट निर्वाचन सुरु भएकाे हाे । पार्टी संस्थापन पक्षकाे साथ रहेकाे भनिएका खुलालले केन्द्रकै निर्देशनमा मनोनयन फिर्ता लिएर इन्द्रमान स्याङ्तानलाई समर्थन गरेकाे बताइन्छ ।
एमाले मकवानपुर नेतृत्व चयनमा २ प्यानल स्पष्ट देखिएकाे छ । एमाले मकवानपुरको नेतृत्वका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्याङ्तानकाे पक्षमा र संविधानसभा सदस्य कृष्णप्रसाद दाहालले पाेखरेलकाे पक्षबिच लविङ गरेका छन् । स्याङ्तानकाे पक्षमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ समेत रहेका छन् । पौडेल र श्रेष्ठले अरु पदका केही उम्मेदवारलाई समेत दवावमा राखेर उम्मेदवारी फिर्ता लिन लगाएकाे एमाले मकवानपुर वृतमा चर्चा छ ।
एमाले मकवानपुरमा एकछत्र राज गर्दै आएका पौडेल खुलाललाई अध्यक्ष बनाएर जिल्लामा आफ्नो प्रभाव राखिराख्ने दाउमा रहेका बेला खुलालले उम्मेदवारी फिर्ता भएपछि श्रेष्ठकाे समेत साथ रहेकाे स्याङ्तानकाे पक्षमा रहेकाे बताइन्छ । पौडेल प्यानलकै श्रेष्ठ र पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीकाे उम्मेदवारका रुपमा समेत स्याङ्तानलाई लिइएकाे छ । पौडेल जिल्लामा शक्तिशाली बन्ने कसरतमा स्याङ्तानलाई लिएर अघि बढेका छन् भने दाहालले विगतको विरासत फिर्ता ल्याउने दौडमा पोखरेल साथ दिएका छन् ।
बागमती प्रदेश अध्यक्ष पदमा पराजित भएका दाहाल आफ्नै प्यानलका पोखरेललाई अध्यक्ष बनाउन चाहन्छन् । पोखरेललाई एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले समेत समर्थन रहेकाे बताइन्छ । दाहालको समर्थनमा उम्मेदवार बनेका पोखरेल एमाले विभाजनका समयमा एकीकृत समाजवादीमा थिए । २०७९ को आमनिर्वाचनकाे प्रचार प्रसारकाे चलिरहेकाे बेला पुनः एमालेमै फर्किएका थिए । अध्यक्षका अर्का उम्मेदवार रिमाल पार्टीका पुराना मध्येका नेता भए पनि उनलाई कसैले नबाेकेकाे बताइन्छ । तर थापालाई केन्द्रीय सदस्य रामेश्वर रानाकाे साथ रहेकाे छ ।
यसैगरी उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा चर्चामा रहेका जिल्ला सचिव नविन सिग्देलले अन्तिम समयमा उम्मेदावरी दर्ता नै गरेनन् । सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी कायम छ । उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी छ ।