भरतपुर, २० जेठ ।
‘भरतपुर भ्रमण वर्ष २०२४’ को अवसरमा पर्यटकीय क्षेत्र पटिहानीमा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा मकवानपुरका कवि सुवास सजल प्रथम भएका छन् ।
भरतपुर महानगरपालिकाको आयोजना, राप्ती तटीय सरसफाई अभियानको सहयोगमा भएको प्रतियोगितामा सुवासले ‘चौतारोः एक आत्मालाप’ शीर्षकमा कविता वाचन गरेका थिए । यस्तै रौतहटकी कवि रेनुका जिसीले `उभिएर आफ्नै चिहानमाथि’ शीर्षकको कविता वाचन गर्दै द्वितीय भइन् भने चितवन भरतपुरका कवि परिवेश चापागाईले ‘भेन्टिलेटरको शहर’ शीर्षकको कविता वाचन गर्दै तृतीय स्थान हासिल गर्न सफल भए ।
त्यस्तै `पर्वतको यात्रामा´ शीर्षकको कविता प्रस्तुत गरेर संखुवासभाका कवि सिजन श्रेष्ठ र `अनन्त मुस्कान´ शीर्षकको कविता सुनाएर मकवानपुरका कवि समर्पण न्यौपानेले सान्त्वना स्थान हासिल गरे ।
विजयी कविलाई भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदी र कार्यक्रम संयोजक कवि भूपिनले पुरस्कार प्रदान गरे । प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५/५ हजार रुपैयाँसहित प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा प्राप्त २३० इमेलबाट न्युनतम मापदण्ड पुगेका १६८ जना कविहरूबाट फाइनलमा १० जना कविबीच प्रतिस्पर्धा गराइएको भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताए । प्रतियोगिताको निर्णायकहरुमा डा.गीता त्रिपाठी, निमेष निखिल र प्रकाश चापागाई रहेका थिए ।