कावासोती, २० गते ।
कावासोती नगरपालिका- १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ६ सय ९२ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नारायणप्रसाद पन्तले ३ सय ४८ मत प्राप्त गरेका छन् ।
१ हजार २ सय ८३ मतदाता रहेकामा मतदानमा १ हजार ७६ मत खसेको निर्वाचन संयोजक कविराम भण्डारीले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा बलबहादुर गाहा निर्वाचित भएका छन् । उनले ६ सय ५६ मत ल्याउँदा प्रतिष्पर्धी यमबहादुर बिकले ३ सय ७४ मत प्राप्त गरेका हुन् । त्यसैगरी सचिवमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय १९ मत प्राप्त गर्दा प्रतिष्पर्धी दिनेश ठाडाले ४ सय १३ मत ल्याएका हुन् ।
अधिवेशनबाट कोषाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय ६९ मत प्राप्त गरेका छन् भने भिमबहादुर रानाले ३ सय ६५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा राजकुमार घिमिरे कै प्यानलले जित निकालेका छन् । खुल्ला सदस्यमा तुलबहादुर सिंजाली, दुर्गाबहादुर राना मगर, श्यामबहादुर कुमाल, महिला सदस्यमा केशमाया मगर, देवीमाया चितौरे, दलित सदस्यमा चुडामणी सुनार, भीमबहादुर दर्जी निर्वाचित भएका हुन् । लेखा संयोजकमा तिलाराम भुसाल र सदस्यहरुमा आनन्द भुसाल, पर्माजित सारु विजयी भएका छन् ।
अधिवेशनबाट राजकुमार घिमिरेको प्यानलले नै जित दर्ता गरेका छन् । संस्थाको छैठौं अधिवेशन १४ पदका लागि २८ जना चुनावी मैदानमा थिए । अध्यक्षका उम्मेदवार घिमिरेले ३ सय ४४ मतान्तरले विजयी भएका हुन् ।