मकवानपुर, २० जेठ ।
साहित्य संगम मकवानपुरले २ जना स्रष्टालाई सम्मान गरेकाे छ । साहित्य सङ्गम मकवानपुरले शनिबार गरेकाे लघुकथा उत्सव कार्यक्रममा शार्दुल भट्टराई र दामोदर पुडासैनी किशाेरलाई सम्मान गरेकाे हाे ।
भट्टराईलाई गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मान तथा किशाेरलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गरिएकाे हाे । हेटाैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सम्मानित व्यक्तिलाई नगद र प्रमाणपत्रसहित उनीहरुलाई सम्मानित गरेका हुन् ।
भट्टराई संगमद्वारा स्थापित २० हजार रुपैया राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ सम्मानित भए ।
संगमका संस्थापक सचिव केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे २५ हजार रुपैयाँ राशिको ‘साहित्य सङ्गम कृति सम्मान २०८०’ ‘डोल्पो ओ डोल्पो’ कृतिका लागि पुडासैनी सम्मानित भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले भाषा र लेखन क्षेत्रमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साहित्यकारहरुसँग शिक्षाकाे खानी हुने भएकाेले धेरैकुरा सिक्न सकिने बताउँदै बौद्धिक व्यक्तिलाई सम्मान गर्दै राजनीति र सामाजिक क्षेत्रमा लाग्न उहाँहरुलाई उत्प्रेरित बनाउनु पर्ने बताए ।
‘साहित्य सम्बन्धी कार्यक्रमको लागि साहित्यक संघसंस्थासंग उपमहानगरमै छलफल गरी साहित्यकाे लागि कार्यक्रम बनाउनु पर्ने बताए ।
साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तिको बारेमा संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका अध्यक्ष तथा लघुकथाकार किशन पौडेलले लघुकथा लेखनमा महोत्सवले थप सहयोग पुग्ने बताए । यसैगरी साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले मकवानपुरमा साहित्य क्षेत्र चलायमान हुँदै अगाडि बढ्दै गइरहेको बताए ।
कथा, कविता, गजल, मुक्तक लगायत साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सङ्गम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
यसैगरी ‘लघुकथाः सिद्धान्त र बाटो’ बहसमा चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी थिए । एसके निधन सहजकर्ता रहेको बहसमा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्य गरिने तौरतरिकाकाे जानकारी दिएका थिए ।
यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निश्कर्षमा पुर्याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताइन् ।
बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने जानकारी दिए ।
उत्सवमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी, चितवनकी रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ लगायतले आ-आफ्ना लघुकथा वाचन गरेका थिए।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।