भरतपुर, १९ जेठ ।
मुलुकको राजनैतिक अवस्था र व्यवस्थाले नागरिकमा निराशा छाएको छ । शासन फेरिएपनि शैली नफेरिएको गुनासो भएका बेला नारायणघाटको श्री आदिकवि भानु माविमा विद्यार्थीलाई निर्वाचनको अभ्यास गराइएको छ । मुलुकको निर्वाचन प्रणाली र लोकतान्त्रिक पद्धतिबाट नेतृत्व छनौटको अभ्यास गराइएको हो ।
सामाजिक विषयको पाठ्यक्रम अन्तरगत लोकतन्त्रमा मतदानको महत्वको विषयमा सिकाइएको विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले बताए ।
शुक्रवार विद्यार्थीले मतदातबाट आफ्नो नेतृत्व छानेका छन् । कक्षा ४ देखि १० सम्मका विद्यार्थी मतदानमा सहभागी भए । निर्वाचनको नियम र नेतृत्व छनौटका लागि मतदान सिकाइएको थियो । निर्वाचनमा उम्मेदवार बनेका र मतदानमा सहभागी विद्यार्थी उत्साहित थिए ।
उनीहरुलाई निर्वाचन प्रणाली वारे जानकारी गराइएको थियो ।‘व्यवहारिक र प्रयोगात्मक शिक्षाका लागि नमुना मतदान कार्यक्रम आयोजना गरेका हौँ , ’ प्रअ अधिकारीले भने- `निर्वाचन कसरी हुन्छ , केके कुरामा ध्यान दिनुपर्छ भनेर सिकाइएको छ, यसले विद्यार्थीमा उत्साह, लोकतन्त्रप्रतिको सम्मानजनक भावना, आफ्नो नेतृत्वबारे विधि प्रक्रियाबारे जानकारी पाएका छन् ।’
निर्वाचन आयोगको सामग्रीसहित भएको निर्वाचनमा एक हजार विद्यार्थीले मतदान गरेका थिए । आठ पदका लागि ५८ जनाको उम्मेदवारी परेको थियो । ६ वटा सदनको नेता र उपनेता , विद्यालयको क्याप्टेन छात्र र छात्राबाट दुई जना गरी ८ जना विजयी भएका थिए ।