भरतपुर, १८ जेठ ।
चितवन जिल्लाको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरूले स्कुल हेड व्वाई, हेड गर्ल, हाउस क्याप्टेन, भाइस क्याप्टेन चयन गरिएको छ । क्याप्टेन चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ ।
भरतपुर ५ गुलाफवागको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक शुक्रबारमा सामाजिक बिषय अन्तरगत प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयनका लागि गरिने मतदान प्रक्रिया सिकाउन मतदानमार्फत नेतृत्व चयन गरिएको विद्यालयले जनाएको छ ।
मतदानमा विद्यालयका कक्षा १ देखि ८ सम्मका ३७७ जना विद्यार्थीले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्याससहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदानबाट विद्यार्थीहरूबाट नेतृत्व गरेको जनाएको छ ।
एक साता अघि विभिन्न पदमा उम्मेदवारी खुला गरिएको थियो । मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समयसीमा दिईएको थियो ।
मतदानमार्फत नेतृत्व चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा १ देखि ८ सम्मका सबै विद्यार्थीलाई मतदान गर्न पाउने व्यवस्थासहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।
बिहीबार दिउँसो ४ बजेदेखि मौन अवधि लागु गरेर प्रचारप्रसारमा रोक लगाइएको थियो । २०८० जेठ १७ गते शुक्रबार बिहान ११ बजेदेखि विद्यालयमा निर्वाचनका लागि ४ वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो ।
निर्वाचनलाई सम्पन्न गराउन शिक्षक सरस्वती पौडेललाई निर्वाचन आयोगको प्रमुख र शिक्षकहरुलाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको थियो ।
विद्यार्थीहरूलाई ४ छुट्टाछुट्टै कलरको मतपत्रमा रहेको चुनाव चिह्नमा मत सङ्केत गरेर मतदान गर्न लगाइएको थियो । मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरूलाई नै सुरक्षाकर्मीको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूले निर्वाचन सुपरिवेक्षकको भूमिका निर्वाह गरेको विद्यालयका लेखा संयोजक हरिकृष्ण अधिकारीले बताए ।
नवनिर्वाचितहरुले सबै कक्षाकोठामा फोहोर सङ्कलन गर्ने कुचो, डस्बीनको व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्थापन र अतिरिक्त क्रियाकलापहरूलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहजीकरण गर्न र विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरूमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेनलगायत नेतृत्व चयन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले बताए ।