भरतपुर, १७ जेठ ।
लेखक गोपी सापकोटाको नयाँ पुस्तक `लन्डन अनप्लग्ड´ प्रकाशन भएको छ । यो पुस्तक सिर्जनात्मक गैरआख्यान हो ।
कृतिका बारेमा लेखक सापकोटा भन्छन् – `सिर्जनात्मक गैरआख्यान तुलनात्मक रूपमा नेपाली साहित्यमा नयाँ विधा हो । अभिव्यक्तिको एउटा शैली हो । कुनै यथार्थलाई जस्ताको तस्तै भन्नु गैरआख्यान हो भने यथार्थलाई सिर्जनात्मक र आख्यानात्मक तरिकाले भन्नु सिर्जनात्मक गैरआख्यान हो ।´
बेलायतमा बस्दै आएका सापकोटाले त्यहाँ भोगेको अनप्लग्ड जीवनलाई अनप्लग्ड भर्सनमा नै लेखिएको गाथा हो – लन्डन अनप्लग्ड । पुस्तकमा २० वटा निबन्ध समावेश छन् ।
कविता तथा नाटक लेखनबाट साहित्यमा प्रवेश गरेका सापकोटाको २०५२ सालमा प्रकाशित `एक अन्त्य एक सुरुवात´ कवितासङ्ग्रह पहिलो कृति हो । त्यसपछि `पूर्णविराम´ नाटकसङ्ग्रह २०५५, `कमिलाको सपना´ बालकथासङ्ग्रह २०५७, `खरानी´ नाटकसङ्ग्रह २०६०, `गुलाफको एस्ट्रेमा मृत्यु´ कवितासङ्ग्रह २०६३, `कालो आकृति´ नाटकसङ्ग्रह २०६४, `अ सुसाइड नोट´ अङ्ग्रेजी कवितासङ्ग्रह २०६७, `प्रेम कतिपय´ नाटक २०६९, `काँचो कागज´ उपन्यास २०६९, `चिसो बाफ´ उपन्यास २०७९ प्रकाशित छन् । लन्डन अनप्लग्ड सापकोटाको ११ औँ पुस्तक हो ।
पूर्वी नवलपरासीको गैंडाकोट घर भएका सापकोटा सन् २००८ देखि बेलायतमा बसोबास गर्दै आएका छन् । कलम प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ६३५ रुपैयाँ छ ।