भरतपुर, १६ जेठ ।
आदर्श नारी विकास केन्द्र ३३ वर्षमा प्रवेश गरेको छ । `महिलाहरुमा अन्तरनिहित शक्तिको सबैले कदर गरौँ´ भन्ने मुल मन्त्रका साथ २०४९ सालमा स्थापना भएको यस संस्थाले ३३ वर्ष प्रवेशको अवसरमा बुधबार बिहान आदर्शसँग साहित्य कार्यक्रम सम्पन्न गर्यो ।
संस्थाको स्थापना दिवस एवम् छैटौं महिला अधिकार दिवसको अवसर पारेर गरिएको कार्यक्रममा एक दर्जन बढी साहित्यकार तथा कविहरुले रचना बाचन गरेका छन् ।
अधिकांश स्रस्टाका रचनामा पितृसत्ताले समाजमा जरो गाडेकाले महिलाहरु निरिह बनाइने गरिएको र उनीहरु परिवार तथा समाजबाट नै असुरक्षित भएको उल्लेख थियो । संस्थाका संस्थापक एवम् निवर्तमान अध्यक्ष मीना खरलेले साहित्यका माध्यमबाट समाजमा रुपान्तरण एवं जागरण ल्याउने उद्धेश्यले कार्यक्रम गरिएको बताइन् । उनले अहिले समाजमा आपराधिक क्रियाकलापहरु र महिला माथिको हिंसाको घटना बढ्दै गएको भन्दै यसका न्युनीकरणमा साहित्यकारहरु पनि लाग्नुपर्नेमा जोड दिइन् । संस्कार संस्कृति र नैतिक शिक्षा अहिलेको आवश्यकता भएको उनको भनाई छ ।
चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष साहित्यकार एवम् सहप्राध्यापक गायत्री श्रेष्ठले महिलाहरुको हक अधिकारका लागि लड्ने मीना खरेललाई आफुले सफल राजनीतिज्ञको रुपमा देख्न चाहेको भए पनि आदर्शमा आएपछि उनले रोजेको बाटो नै उपयुक्त रहेछ भन्ने महसुस भएको बताइन् ।
पछिल्लो समय घर परिवारबाटै छोरीहरु असुरक्षित भएको समाचारले दु:खी बनाएको भन्दै उनले पछिल्लो पुस्तालाई नैतिक शिक्षाको खाँचो रहेको औल्याइन् ।
भरतपुर महानगरपालिका वरिष्ठ महिला विकास अधिकृत सुशीला वाग्लेले आदर्श नारीले महिला तथा बालबालिकाको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याकंन गरिन् । `आदर्श नारी महिला बालबालिकाको अधिकार स्थापित गराउन ब्रान्ड नै भइसकेको छ´ उनले भनिन् ।
महिलाको पीडा सम्बोधन गर्न र सशक्तीकरण गर्नमा संस्थाको योगदान ठुलो छ । सुरुआती दिनमा आदर्शको कामको मुल्याङ्कन गर्दै संघीय सरकारले समेत सहकार्य गरेको यस संस्थाको योगदानलाई स्थानीय सरकारले पनि बुझेर सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
पत्रकार तथा लेखक वसन्त पराजुलीले हिंसाप्रभावित दिदीबहिनीका सवाललाई साहित्यमार्फत बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले आगामी दिनमा संस्थाको पहिचान र शाखलाई थप उचाईमा पुर्याउन सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने बताइन् । उनले संस्थापक अध्यक्ष सीता सापकोटा, सचिव मीना खरेल र सरिता केसीलगायत २१ जनाको समुहले स्थापना गरेको संस्थाको नेतृत्व आफ्नो काँधमा आएकोमा खुसी व्यक्त गर्दै उहाँहरुले गर्नुभएको योगदानको उच्च मुल्याकंन गरिन् ।
कार्यक्रममा सामना पडाड, विद्या भण्डारी चिराग, राधा कोइराला, बालकृष्ण थपलिया, सरला जोशी, सूर्यप्रकाश कँडेल, पविता पुरी, विदुर केसीलगायतले रचना वाचन गरेका थिए । यस्तै आदर्श गृहमा आश्रित छोरीहरु शोभा सुनार, रेनुका धमला, दीपा श्रेष्ठले पनि रचना प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाल सरकारको नवौँ तहमा बढुवा भएकी भरतपुर महानगरपालिका वरिष्ठ महिला विकास अधिकृत सुशीला वाग्ले साहित्यकार गायत्री श्रेष्ठ र संस्थाको स्थापना कालदेखि हालसम्म अनवरत संस्थामै रहेर सेवा गरिरहेकी संंस्थापक मीना खरेललार्ई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैबीच संस्थाले बुधबार स्थापना दिवसको दिन दीप प्रज्वलन समेत गरेको छ । संस्थाको प्राङ्गगणमा भेला भएका आदर्श अभियन्ताहरुले स्थापना दिवसलाई दीप प्रज्वलन गरेर एक आपसमा शुभकामना साटासाट गरेका हुन् ।