मकवानपुर, १६ जेठ ।
गीतसँगै मुक्तकलेखनमा समेत सक्रिय सुवासचन्द्र ढुंगेलले मकवानपुरको हेटौंडामा मंगलबार मुक्तक सुनाएका छन् ।
मुक्तक मञ्च मकवानपुर शाखाले ढुङ्गेलको मुक्तक सुनाउने कार्यक्रम मिलाएको हो ।
कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो
सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो
तरबारसँग भागेर फूलको नजिक पुगेँ म, बल्ल सम्झेँ,
फूलको होस् या तरबारको धारको काम रेट्ने त हो ।
उनले एकल मुक्तक वाचन कार्यक्रममा माथिका जस्तै चोटिला ३० वटा मुक्तक सुनाएका थिए । मुक्तक वाचनको पहिलो सत्रमा ढुंगेलले १५ वटा र दोस्रो सत्रमा १५ वटा राजनीति, सामाजिक, समसामयिक, शृङ्गारिक भावका मुक्तक सुनाएका थिए । उनको ‘चोट के हो व्यथा के हो’ र ‘सुवास’ गीति एल्बम, भाँचिएको मन’ गजल संग्रह, ‘आनन्दै आनन्द’ भक्ति गीति एल्बम तथा ‘अक्षरका गोलीहरु’ मुक्तकसंग्रह प्रकाशित छन् ।
यस्तै ‘चोट के हो व्यथा के हो ?’ गीत ढुंगेलले लेखेका हुन् । उनका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू सांगीतिक बजारमा छन् ।
कार्यक्रममा कमल नेपाल र मिथिला अधिकारीले ढुंगेलका थप ३/३ वटा मुक्तक वाचन गरेका थिए । कवि मुरारि सिग्देलले ढुंगेलको संक्षिप्त परिचय गराएका थिए ।
कार्यक्रममा मकवानपुरका गायक कृष्णगोपाल सिंह र अञ्जन दाहालले ढुङ्गेलले रचना गरेको गीत प्रस्तुत गरेका थिए ।
२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रम गर्दै आएको छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता भएको कार्यक्रमलाई सस्थाका सचिव सुवास सजलले सहजीकरण गरेका थिए ।