भरतपुर, १५ जेठ ।
कवि गुरूप्रसाद न्यौपाने सुशीलको कवितासङ्ग्रह `सिर्जनाको फूलबारी´ लोकार्पण गरिएको छ । नारायणी पुस्तक सदन नारायणगढको आयोजनामा रेडक्रस भवन नारायणगढमा पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र सभापति नारायणी पुस्तक सदनकी सञ्चालक सुशीला न्यौपानेले कृति विमोचन गरेका हुन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य रामहरि श्रेष्ठले सिर्जनाको फूलबारीमा विविध खाले सिर्जना समेटिएको बताए । `उहाँको व्यक्तित्व पनि सुशील छ, व्यक्तित्व जस्तै कविताहरू पनि सरल र सुशील स्वभावका छन्´, श्रेष्ठले भने ।
अर्का टिप्पणीकार डिआर पोखरेलले सिर्जनाको फूलबारीमा कवि सुशीलका जीवनका घटनाक्रम, सामाजिक बेथिति, देशभक्ति, प्रकृति प्रेम र परिवर्तनका लागि खबरदारी गरिएका प्रसङ्ग कविताका रूपमा समेटिएको बताए । गैंडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले शुभकामना मन्तव्य राख्दै उहाँका कविता सद्भाव, चोखोपन र प्रेरणादायी भावका भएको बताउँदै साहित्य साधनमा निरन्तरता दिन आग्रह गरे । प्राडा नारायणप्रसाद खनालले पुस्तकको व्यापार गर्ने व्यक्ति सिर्जनशील हुनु राम्रो भएको बताउँदै न्यौपानेले गरेको पत्रकारिता र साहित्य साधनाको प्रसंशा गरे । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीका हरिप्रसाद पौडेल, शिक्षाविद रमाकान्त सापकोटा, लकास पौडेल, पुष्प अधिकारी अञ्जलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
न्यौपाने २०१५ सालमा लमजुङमा जन्मिएका हुन् । उच्च शिक्षा अध्ययनका लागि २०३४ सालमा भैरहवा पुगेका उनले अध्ययन सँगसँगै दैनिक निर्णय र साझा प्रकाशनमा काम गरे । २०३९ सालमा चितवन आएपछि उनले नारायणी पुस्तक सदन सञ्चालन गरेका हुन् । पुस्तक एवम् पत्रपत्रिकाको बिक्रीवितरणमा कवि सुशीलको योगदान प्रसंशनीय छ । २०७३ सालमा प्रकाशित नेपाली गाउँ खाने कथासङ्ग्रहको सम्पादन गरेका सुशीलको सिर्जनाको फूलबारी पहिलो कवितासङ्ग्रह हो । ५५ वटा कविता समावेश रहेको पुस्तकको मूल्य १५० रुपैयाँ छ । कार्यक्रमलाई सञ्चारकर्मी सुवास अधिकारीले सञ्चालन गरेका थिए ।