नेपाली साहित्यको क्षेत्रमा कविता र गजल लेखनमा सक्रिय विद्या भण्डारी ‘चिराग’ बालसाहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । वि.सं. २०२३ साल मंसीर १ गते काठमाडौंको तुलसीधारा डल्लुमा जन्मिएकी ‘चिराग’ को कर्मक्षेत्र भने चितवन बनेको छ । उनी यस क्षेत्रकी सशक्त नारी साहित्यकार मानिन्छिन् । उनका प्रौढ र बालसाहित्यमा गरेर आठ वटा कृतिहरू प्रकाशित भइसकेका छन् । बालसाहित्यमा उनका ‘इन्दे्रणीको गेट’, ‘चरी माथि आकाशमा’ र ‘हाटबजार’ जस्ता कृतिहरू यस अघि नै प्रकाशित भइसकेका छन् । यस पटक उनले ‘लौरी हजुरबुबाको’ नामक बालगजल सङ्ग्रह प्रकाशित गरेकीे छन् । त्यही कृतिका बारेमा चर्चा गर्ने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
संरचना
‘लौरी हजुरबुबाको’ नामक बालगजल सङ्ग्रह कुल ६० पृष्ठको छ । त्यसमध्ये अग्रभाग, भूमिका, शुभकामना र आभारले २० पृष्ठ ओगटेको छ । सुप्रसिद्ध गजलकार गोविन्दराज विनोदी र समालोचक रमेश प्रभातको गहन भूमिका रहेको यस कृतिमा गजलकारको भनाइ पनि समावेश छ । पं.नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान (गुठी) बाट प्रकाशित यस गजलसङ्ग्रहमा त्यस प्रष्ठिानका अध्यक्ष महाकाव्यकार लकाश पौडेलको पनि महत्वपूर्ण प्रकाशकीय मन्तव्य रहेको छ ।
विषयवस्तु
‘लौरी हजुरबुबाको’ नामक बालगजल सङ्ग्रहमा बालबालिकाको लागि उपयोगी हुने विविध विषय समेटिएको छ । यस सन्दर्भमा गजलकार भन्छिन्– ‘यस सङ्ग्रहमा हजुरबुबाहरूको सम्झनामा बीस गजल एकै विषयको राख्ने मेरो सोचाइ थियो । तर फेरि विषय एउटै हुनुभन्दा हरेक गजलमा फरकफरक विषय राख्दा बढी उपयोगी हुने ठानेर पुस्तक यो रूपमा तयार पारिएको छ ।’ यसबाट के बुझिन्छ भने यस सङ्ग्रहका बीस वटा गजल अलगअलग विषयका छन् । त्यसो भए ती विषयहरू के के हुन् त ?
(१) वृद्धवृद्धाप्रति सम्मान : यस गजल सङ्ग्रहको मूल उद्देश्य वृद्धवृद्धाहरू अशक्त हुन्छन्; त्यसकारण उनीहरूको उचित रेखदेख गरिनु पर्दछ भन्ने ज्ञान बालबालिकामा दिलाउनु हो । गजलकारले भन्छिन्–
उमेर पुग्यो असीमाथि बिर्सने भो बानी,
त्यसैले त साथ सधैं बसिरन्छु म त ।
(लौरी हजुरबुबाको, ९) ।
त्यस्तै अर्को ठाउँमा यस्तो लेखिएको छ–
मेरो भोक, प्यास थकान बुझ्ने हजुरआमा,
बदलामा दिऊँ खै के ? सधैं गुन्छु म त ।
(आमा हजुर, ११) ।
(२) आपसी मेलमिलाप : बालबालिकालाई आपसमा मिलेर बस्न सिकाउनु पर्दछ भन्ने हेतुले केही गजल लेखिएका छन् । जस्तै–
साथी–साथीबिच मेल हाम्रो स्कुलमा,
कति–कति खेल्ने खेल हाम्रो स्कुलमा ।
(हाम्रो स्कुलमा, १५) ।
रमाइलो दिन–छिन आपसमा मिल्दा,
दुखाउँदैनौं मन कसैको साह्रै जाती हामी ।
(आँटी हामी, ३९) ।
(३) समयको ख्याल : बालबालिकालाई समयको ख्याल गर्न सिकाउने उद्देश्यले लेखिएको गजल यस्तो छ–
समयमै गर्छ जसले गर्नु पर्ने काम,
उसलाई नै पुरस्कार दिन्छ समय ।
(समय बलवान, १९) ।
(४) असल कुरा सिक्ने बानी : बालबालिकालाई असल काम गर्न, सिक्न र सुन्न सिकाउनु पर्छ भन्ने बोध गराउन गजलकारले रचेको गजल यस्तो छ–
सिक्दैछु म स्कुलमा राम्रा–राम्रा बानी ।,
हाँसी–खुशी खान्छु खाना सुरुक्क म ।
(फुरुक्क म, २७) ।
यस गजल सङ्ग्रहमा यस्तै–यस्तै अनेकौं विषयहरू छन् । सायद गजलकारले लामो समयसम्म विद्यालयस्तरमा रहेर सानासाना बालबालिकाहरूलाई पठनपाठन गराएको हुनाले त्यतिखेर नै उनीहरूसँगको सङ्गतबाट सिकेका कुराहरू गजलमार्फत अभिव्यक्त गरेको पनि हुन सक्दछ ।
बालसाहित्य कस्तो हुनुपर्छ ?
केही विद्वानहरूले साहित्य पनि बाल, किशोर, युवा, प्रौढ र वृद्ध भनेर उमेर समुह अनुसार अलगअलग हुन्छ र ? भनी प्रश्न उठाएका छन् । यसो हेर्दा र सुन्दा त यो भनाइ ठिकै जस्तो पनि लाग्दछ । तर वास्तविक रूपमा गहिरिएर हेर्दा अचम्म लाग्छ । किनभने अहिलेसम्म हामीले साहित्य भनेको सुललित तथा प्राज्ञिक भाषा, शैली एवंं प्राविधिक विधिमा बाँधिएर गरिएका रचना वा लेखिएका मनका भावना मात्र भन्ने बोध ग¥यौं । अनि साहित्य भनेको मनोरञ्जनका लागि मात्र लेखिने कलात्मक अभिव्यक्ति हो भन्ने पैरवी गर्यौं । त्यस दृष्टिबाट हेर्दा बालबालिका, किशोर, युवा, प्रौढ र वृद्धका लागि अलगअलग किसिमका साहित्य चाहिन्छ भन्ने अवधारणा आउने कुरै भएन । किनभने बालक, किशोर, युवा र वृद्ध सबै उमेर समुह अनि जुनसुकै किसिमको रोगीका लागि एकै किसिमको खुराक तयार गरेर दिने भएपछि अलगअलग किसिमको भान्सा तयार गर्ने झञ्झटै परेन । तर अब युग बदलिइसकेको छ । जुनसुकै किसिमका प्राणीहरूका लागि पनि एकै प्रकारको दाना पानी–दिएर झारा टार्ने जमाना सकिएको छ । उमेर समुह र शारीरिक अवस्था अनुसारको खुराक दिनुपर्ने बेला आएको छ । साहित्य पनि बौद्धिक खुराक भएको हुनाले यो पनि उमेर समुह अनुसार अलगअल किसिमको हुनु पर्दछ । अब त्यसो भए बालसाहित्य कस्तो हुनुपर्दछ त भन्ने सवाल उठ्न सक्दछ ।
बालसाहित्य भनेको बालबालिकाको मनोविज्ञानमा आधारित साहित्य हो । बालबालिकाले सहजै बुझ्न र ग्रहण गर्न सक्ने भाषा, शैलीमा लेखिएको साहित्यलाई मात्र बालसाहित्य भनिन्छ । साथै बालसाहित्य मानिनका लागि बालबालिकाको उमेर अनुसार उनीहरूको मनोविज्ञान र ग्रहण गर्न सक्ने क्षमतालाई विचार गरेर चयन गरिएका शब्द र त्यसलाई चित्रद्वारा स्पष्ट गरिएको सिर्जना हुनुपर्दछ । त्यसकारण बालसाहित्यको रचना गर्दा सर्जक पनि बालक जस्तै बन्न सक्नुपर्दछ ।
बालसाहित्य सिर्जना गर्न त्यति सजिलो छैन । किनभने सर्जकले शब्दद्वारा भाव र विचार प्रकट गरेर मात्र पुग्दैन । चित्रद्वारा त्यसलाई विस्तृत रूपमा बुझिने गराउनु पर्दछ । त्यसकारण स्रष्टाले चित्रकारसँग पनि संयोजन गर्न सक्नुपर्दछ । किनभने शब्दद्वारा व्यक्त गरिएको भाव र विचारलाई आत्मसात गरेर बनाइएको चित्रले मात्र सही सन्देश प्रवाह गर्न सक्दछ । बालबालिकाको ध्यान आकर्षित गर्न सक्दछ ।
‘लौरी हजुरबुबाको’ मूल्याङ्कन
विद्या भण्डारी ‘चिराग’ले ‘लौरी हजुरबुबाको’ नामक बालगजल सङ्ग्रहमा माथि उल्लेखित बालसाहित्यमा हुनुपर्ने तत्वको ख्याल गरेर कृति तयार गरेकीे छन् । साथै उनले चित्रकारितामा स्नातक उपाधि प्राप्त गरेका नवीनभक्त अधिकारीसँग संयोजन गरेर शब्दद्वारा व्यक्त गरिएको भाव र विचारलाई स्पष्ट पार्ने गरी चित्र बनाउन लगाएकीे छन् । यो गजल सङ्ग्रह बालबालिकामा पनि दशवर्षभन्दा माथिको उमेर समुहको लागि उपयुक्त हुन्छहोला भन्ने मेरो आँकलन छ । त्यसको परीक्षण त बालपाठक माझ गएर गर्नुपर्दछ ।
गुनासो
विद्या भण्डारी ‘चिराग’ले बडो मेहनेतपूर्वक तयार गरेको यो बालगजल सङ्ग्रह बालबालिकाको लागि मात्र होइन युवा र प्रौढ पाठकहरूका लागि पनि उपयोगी छ । जुनसुकै काम गर्दा पनि केही न केही कमीकमजोरी त रहिरहन्छ । यस बालगजल सङ्ग्रह तयार गर्दा पनि केही कमीकमजोरी रहेको महसुस गरिएको छ ।
(१) यस बालगजल सङ्ग्रहमा राखिएका चित्रहरू रंगीन भइदिएको भए ‘सुनमा सुगन्ध’ हुने थियो ।
(२) यसअघि ‘इन्द्रेणीको गेट’ नामक बालकविता सङ्ग्रहमा प्रकाशित भइसकेको ‘लोरी’ नामक गजल पुनः यस बालगजल सङ्ग्रहमा पनि राखिएको छ । एक पटक प्रकाशित भइसकेको रचना अर्को कृतिमा नराखेको भए हुन्थ्यो कि ?
(३) गजलको मुख्य तत्व काफिया मिलाउने धुनमा बालकालिकाको लागि पाच्य नहुने मोरी, जालीलगायत केही शब्दहरू प्रयोग भए कि ? जस्तै–
रिसाउँदै मोरी मलाई पर्खी बसेकी छ । (पृ.२३)
त्यस्तै अर्को शब्द–
छाडी मलाई जानु हुन्छ जाली हजुर बा । (पृ.४३)
यसै सन्दर्भमा ‘टिफिन’ शब्दलाई पनि नेपालीकरण गरिदिएको भए वेश हुने थियो कि ?
निष्कर्ष
कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्या भण्डारी ‘चिराग’ बालसाहित्यमा पनि उत्तिकै चर्चित नाम हो । सामान्य कमीकमजोरी भएपनि समग्रमा ‘लौरी हजुरबुबाको’ नामक बालगजल सङ्ग्रह एक उत्कृष्ट कृति हो ।
बालसाहित्य लेखन जस्तो दुरुह कार्यलाई पनि सहज तरिकाले लिएर उत्कृष्ट कृति प्रकाशन गर्न सफल भएकोमा ‘चिराग’लाई बधाई दिन्छु । साथै यस कृतिले प्रशस्त ख्याति कमाओस् भन्ने शुभकामना पनि अभिव्यक्त गर्दछु ।