देवचुली, १४ जेठ ।
गण्डकी प्रदेश अन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै सजिलै पुगिने यस क्षेत्रको फरक भौगोलिक विशेषताले पनि यस क्षेत्रलाई पर्यटकीय हिसाबले विशेष बनाएको छ ।
यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको देवचुली डांँडा समुद्री सतह देखि करिब १९३६ मिटरको उचाईमा
रहेको छ । महेन्द्र राजमार्गको दलदलेबजारदेखि मुण्डे हुँदै किर्तिपुरबाट करिब पाँच किलोमिटरको पैदल यात्रामा यस रमणीय ठाउँमा पुग्न सकिन्छ ।
देवचुली नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको यस भूभागमा किर्तिपुरबाट तीन घण्टाको पदयात्रामा सहजै पुग्न सकिने नवलपुरकै अग्लो डाडाँको उत्तरतर्फ मनै लोभ्याउने अग्ला हिमाली शृंखला, दक्षिणतर्फ सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्जको हरियो घना जंगलका फाँटहरु, बिहानको समयमा अनुभव गर्न सकिने अनुपम सुर्योदयलगायतका अन्य प्राकृतिक दृश्यहरु पनि अवलोकन गर्न सकिने यस क्षेत्र धार्मिक महत्व बोकको ठाउँसमेत हो ।
हरेक वर्षको चैते पूर्णिमामा यहाँ ठुलो संख्यामा भक्तजनहरुको भिड लाग्ने गर्दछ । उक्त दिन तीनकन्यामाईको पूजा हुने गर्दछ ।
विशेषगरि थारु समुदायका मानिसहरु यस दिन शिरथान कुवारवर्ती माईका रुपमा पूजा गर्न देवचुली डाँडा पुग्ने गर्दछन् ।
द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही दिन यहिँ डाँडामा रहेको गुफामा बास बसेको किंवदन्ती रहेकोले यस
गुफाको आफ्नै धार्मिक महत्व पनि रहेको छ । गुफा भित्रका विभिन्न जनावर र मानिसका आकृति देखिने चट्टान र सारंगीको धुन
जस्तो संगीत निस्कने ढुंगाहरुको कारण पनि यो डाँडा धार्मिक तथा भौगोलिक दुवै हिसाबले आकर्षणको केन्द्र बनेको छ ।
यस सुन्दर पर्यटकीय गन्तव्यको पर्यटकीय सम्भावनालाई अझ बढी टेवा पुर्याउने हेतुले यसको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र अन्य व्यवस्थापनका लागि युनडिपी, राष्ट्रिय पर्यटन बोर्ड र देवचुली नगरपालिकाको संयुक्त साझेदारीमा जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन कार्यक्रम संचालनमा ल्याइएको छ ।
यस परियोजनाको कुल बजेट ४२ लाख ५० हजार रुपैयाँ रहेको थियो । परियोजनाको कुल बजेटको ५२.९४ प्रतिशत देवचुली नगरपालिकाले र बाँकी ४७.०६ प्रतिशत जिविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन कार्यक्रमले व्यहोर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यस कार्यक्रमभित्र परेका मुख्य योजनाहरु अन्तर्गत व्यवस्थित पदमार्गको निर्माण, पदमार्गमा पैदलयात्री तथा पर्यटकको लागि विश्राम स्थलको निर्माण, होमस्टे व्यवसायको व्यवसायीकरण, उद्यमशीलता सिर्जना, पर्यटकीय संकेत चिह्नहरुको निर्माण र फोहोर संकलन गर्ने रिङ निर्माणका लागि बजेट वर्गीकरण गरी कार्यक्रम सुरु गरिएको थियो ।
बजेट वर्गीकरण र सम्झौता अनुरुप नै सो क्षेत्रमा करिब १७०० पक्की सिंढी तथा ५ वटा विश्राम स्थलको निर्माण गरिएको छ । त्यसैगरी उपयुक्त स्थानहरुमा ३० वटा पर्यटकीय संकेत चिह्न तथा वातावरण मैत्री होर्डिङ बोर्ड, फोहोर संकलनका लागि विभिन्न स्थानमा ३० वटा डस्टबिनहरु राखिएको छ । सबै किसिमका पूर्वाधारहरुको निर्माणसँगै सो क्षेत्रमा घुमघामका लागि पुग्ने पर्यटक र पदयात्रीहरुको लागि खाना तथा बास बस्ने सहजताका लागि त्यहाँका स्थानीय मगर समुदायलाई होमस्टे संचालन गर्न स्थानीयका लागि आवश्यक अभिमुखीकरण तालिम दिई होमस्टे व्यवसायलाई स्थानीयहरुको प्रत्यक्ष संग्लग्नतामा व्यवसायिक रुपमै अघि बढाईएको छ । जसले गर्दा पछिल्लो समय बास बस्नेगरी पुग्ने पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेका छन् ।
स्थानीय समुदायहरुको संलग्नतामा यस्ता कसिमिका क्रियाकलापहरु सुरु भएपछि समुदायमा उद्यमशीलतासँगै रोजगारीको अवसरहरु पनि सिर्जना
भएको पाइएको छ ।
स्थानीयको आर्थिक आयआर्जनमा पनि टेवा पुर्याएको छ । दिगो रुपमा प्रभाव पार्ने यस्ता किसिमका बहुआयामकि कार्यक्रमहरुले सम्भावना बोकेको तर उचित प्रचारप्रसारको कमीले ओझेल परेको यस गन्तव्यको पर्यटन प्रवर्द्धनमा सार्थक पहल गरेको छ ।