गैंडाकोट, १४ जेठ ।
गैंडाकोट नगरपालिक वडा नम्बर ५ ले स्वस्थ जीवन सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गराएको छ ।
आफ्नो वडाभित्र रहेका १९ टोल विकास संस्थाका सम्पूर्ण सदस्य तथा वडाका जनतालाई उक्त प्रशिक्षण गराइएको हो । रजहरस्थित प्राकृतिक चिकित्सालयका प्रमुख डाक्टर विनोद पौडेल प्रशिक्षक रहेका थिए । कार्यक्रममा पौडेलले
खराब जीवनशैली रोगहरूको प्रमुख कारण भएकाले स्वस्थ जीवनशैली आरोग्य जीवनको आधार भएको र हरेक रोगहरुसँग लड्ने रोगहरूको औषधि जीवनशैली नै रहेको बताए । पौडेलले मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज रहेको र यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
प्रमुख अतिथि नगर उपप्रमुख शान्ति कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै स्वच्छ र गुणस्तरीय खाना स्वस्थ जीवनका लागि पनि आवश्यक रहेको बताउँदै सहभागीहरुलाई प्रशिक्षणमार्फत लिएको ज्ञानले मात्रै नभै स्वस्थ र तन्दुरुस्त हुनका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको बताइन् । वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको प्रस्ट्याउँदै मानव सभ्यतालाई जीवन्त राख्न आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर कार्यपालिका सदस्य एवं महिला नेत्री शान्ति न्यौपानेको संयोजनमा सम्पन्न भएको थियो ।