सौराहा, १२ जेठ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा सम्पत्ति शुद्धीकरण विषयक सहकारी संघ संस्थाहरुलाई प्रवोधिकरण कार्यक्रम सौराहामा सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनको समन्वयमा आयोजित कार्यक्रममा चितवन र नवलपुरका सहकारी संस्थाका ३५ जना कर्मचारी सहभागी थिए ।
प्रमुख प्रशिक्षकका रुपमा सहकारी विभागका शाखा अधिकृत हरि पौडेल र तिलकराम पोखरेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहकारी संघ संस्थाहरुले Go anti money loundring प्रणालीको उपयोग गरी सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्न प्रभावकारी उपायहरुबारे जानकारी दिइएको थियो ।
प्रमुख प्रशिक्षक हरि पौडेलले जिओ एएमएल प्रणालीका विविध पक्षहरुबारे प्रष्ट पार्दै सहकारी संस्थाहरुले सम्पत्ति शुद्धीकरण रोकथामका लागि जिओएएमएल प्रणालीलाई सफलतापूर्वक कार्यान्वयन गर्न जरुरी रहेको बताए । यस प्रणालीको प्रयोगले वित्तीय प्रणालीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न मद्दत पुर्याउने पौडेलले बताए ।
त्यसैगरी प्रमुख प्रशिक्षक तिलकराम पोखरेलले सहकारी संस्थाहरुमा सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरण गर्ने उपायहरुबारे जानकारी गराउँदै सहकारी संघ संस्थाहरुले सदस्यहरुको वित्तीय गतिविधिलाई नजिकबाट अनुगमन गरी शंका लागेका कारोबारको रिपोर्टिङ गर्नुपर्ने बताए । यसले सम्पत्ति शुद्धीकरणको जोखिमलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
कार्यक्रमको समापनमा कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनका अध्यक्ष मेघनाथ लामिछानेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै यो प्रवोधिकरण कार्यक्रमले सहकारी संघ संस्थाहरुमा सम्पत्ति शुद्धीकरण रोकथाममा ठोस कदम चाल्न मद्दत गर्ने बताए । सहकारी संस्थाहरुले जिओएएमएल प्रणालीलाई प्रभावकारी रुपमा अपनाउन आवश्यक रहेको पनि उनले बताए ।
कार्यक्रममा सहभागीहरुले सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी विभिन्न पक्षमा छलफल गरेका थिए । यो प्रवोधिकरण कार्यक्रमले सहकारी संघ संस्थाहरुको सम्पत्ति शुद्धीकरण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको लामिछानेले बताए ।