भरतपुर, १२ जेठ ।
महिला बालबालबालिका र मानवअधिकारको रक्षार्थ क्रियाशील संस्था आदर्श नारी विकास केन्द्रले इच्छाकामना गाउँपालिकामा शाखा विस्तार गरेको छ । संस्थाको ३३औं स्थापना दिवसको अवसर पारेर आज इच्छाकामना ४ सर्वशान्ति माविमा गरिएको विशेष भेलामार्फत इच्छाकामनामा शाखा विस्तार गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको रोहवरमा भएको भेलाले सावित्री गुरुङको संयोजकत्वमा १५ सदस्ययीय समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा दुर्गा पुरी, सचिव निर्मला श्रेष्ठ , सहसचिव दीपा चेपाङ र कोषाध्यक्षमा मन्जु राना चयन भएका छन् । यस्तै सदस्यहरुमा सरिता गुरुङ, शर्मिला सिलवाल, सुशीला श्रेष्ठ, विमला श्रेष्ठ, मिश्रीमाया परियार, महेश्वरी मैनाली, पूजा कँडेल, उर्मिला थापा र सीता विक चयन भएका छन् ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष उप्रेतीले संस्थाले गरिरहेको कामको उच्च प्रसंशा गर्दै महिला बालबालिकाको सवाल र हिंसा न्युनीकरणको अभियानमा वडा कार्यालयसँगै रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि इच्छाकामना गाउँपालिका निवर्तमान अध्यक्ष गीता गुरुङले आदर्शले महिलालालाई परेको अन्यायको विरुद्ध बुलन्द आवाज उठाउने गरेको बताइन् । उनले आदर्श नारी कुनै झुन्डको संस्था नभई प्रत्येक अन्यायमा परेकाहरुको न्यायका लागि अनवरत लड्ने संस्थाको रुपमा परिचित रहेको भन्दै इच्छाकामनाको समितिले पनि यसको मर्म र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले इच्छाकामनामा विशेषगरी लागुऔषध, बालविवाह, बहुविवाह, लैंगिक हिंसाको समस्या जटिल रहेको भन्दै यसका विरुद्ध अभियान चलाउन संस्था उदाहरणीय र नमुना बनोस् भन्ने कामना गरे ।
संस्थाको कार्यक्रमलाई फराकिलो बनाउन शाखा विस्तार गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताइन् । संस्थाको स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको संस्थाले दोस्रो कार्यक्रमको रुपमा इच्छाकामनामा विशेष भेलासहित शाखा विस्तार गरेको हो । आदर्शले यसअघि कालिका नगरपालिकामा शाखा बिस्तार गरिसकेको छ । यस आर्थिक वर्षभित्र जिल्लाका सातै पालिकामा शाखा विस्तार गर्ने संस्थाको लक्ष्य छ ।
नवगठित समिति संयोजक गुरुङले आदर्श नारीको मर्म र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाका कार्यसमिति सदस्य दुर्गा गौतमले संयोजन गरेको सो कार्यक्रममा सचिव सरिता सुवेदी पाठक, कालिका शाखा अध्यक्ष मेनुका थापा अधिकारीलगायतले बोलेका थिए ।
`महिलाहरुको अन्तर्निहित शक्तिको सबैले कदर गरौँ´ भन्ने मुल मन्त्रका साथ स्थापित यस संस्थाले महिला तथा बालबालिकाहरु विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरी उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्य राखेको छ ।
संस्थाले विभिन्न परिवेशबाट जोखिममा परेका असहाय महिला तथा बालबालिकाहरुको कानुनी अधिकारका लागि कानुनी परामर्श, सहायता, वकालत एवं पैरवी गर्ने र विपन्न तथा जेहेन्दार बालबालिकाहरुको लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यस्तै घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, असुरक्षित वैदेशिक रोजगार, बालश्रम तथा यौन शोषण, असुरक्षित गर्भपतन, द्वन्द्व प्रभावित, एचआईभी एड्स सम्बन्धी चेतनामूलक तालिम, गोष्ठी र सेमीनारका साथै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ‘जसको सवाल उसकै नेतृत्व’ अनुसरण गर्दै व्यवहारिक रुपमा समस्याहरुको पहिचान गरी प्राथमिकताका आधारमा पीडित, प्रभावितहरुको सहभागिता एवं नेतृत्वमा जोखिम न्यूनीकरण कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको उद्धेश्य रहेको छ ।