भरतपुर, १२ जेठ ।
सधैं बिरामीको वरिपरि घेरिएर बस्ने डाक्टर कृष्णप्रसाद पौडेल शनिबार पनि घेरिएरै रहेका थिए तर त्यहाँ बिरामी थिएनन् । अरुबेला बिरामीको सञ्चोबिसञ्चो सोध्दै परामर्श दिँदै औसधि लेख्न व्यस्त रहने डाक्टर पौडेल शनिबार बिहान भने चितवनका कवि, लेखक र किताब पारखीमाझ आफ्नो जीवनकालका सन्दर्भहरू सुनाइरहेका थिए ।
चितवनका सिर्जनशील सचेत युवाहरूको समूह लेट्स टकको आयोजनामा गरिएको चियागफ कार्यक्रममा डाक्टर पौडेलले आफ्ना दैनिकीहरू सुनाए । लेट्स टकको ८४ औँ शृङ्खला अन्तर्गत चियागफ कार्यक्रम डाक्टर पौडेलको निजी निवास भरतपुर-११ बाइपासरोडमा गरिएको हो । कार्यक्रममा पौडेलले आफ्नो पेशा, साहित्य र जीवन सम्बन्ध बारे खुलेर कुरा गरे । अग्रजबाट आशीर्वाद पाएर चिकित्सा पेशामा लागेको पनि उनले बताए । पौडेलले आफ्ना पिता कोपिलामणि पौडेल प्रेरणाको स्रोत भएको बताए । `चिकित्सा क्षेत्रमा लागेर अगाडि बढ्दा पिताजीको हौसला र सहयोग पाएँ, पिताजीको आशीर्वादले आफ्नो पेशामा म सफल रहेको छु´, डाक्टर पौडेलले भने । डाक्टरी पेशामा लागेर बिरामीको सेवा गर्न पाउँदा सन्तुष्टि मिलेको उनले बताए । `यदि म डाक्टर नबनेको भए शिक्षक हुन्थेँ हुँला, शिक्षण पनि मेरो रुचि थियो । तर चिकित्सा क्षेत्रमा जोडिएपछि यसै क्षेत्रमा सबैथोक मिल्यो, अरु पेशाको विकल्प आवश्यक परेन´, उनले सुनाए । आफ्नो जीवन प्रति कहिल्यै गुनासो नरहेको पनि पौडेलले बताए ।
साहित्यतिर सानैदेखिको रुचि भएको पनि उनले सुनाए । स्कुल पढ्दा भित्तेपत्रिका निकाल्ने र त्यसैमा रचना छाप्ने गरेको उनले बताए । कार्यक्रममा डाक्टर पौडेललाई आकाश पौडेल, लेखराम सापकोटा, उदय अधिकारी, सूर्यप्रकाश कँडेल, सुरेन्द्र अस्तफल, प्रेम कँडेल, वासुदेव सापकोटा, दिनेश नाइसा मगर, सविना भुसाल, प्रविन सन्नाटा, विपिन पाठकलगायतले पेशा र रुचिका सम्बन्धमा जिज्ञासा पनि राखेका थिए । तिनै जिज्ञासालाई सम्बोधन गर्दै डाक्टर पौडेलले आफ्ना कुरा राखेका थिए ।
अर्थोपेडिक र स्पाइनल सर्जन डाक्टर पौडेल भरतपुर अस्पतालमा दुई पटकसम्म मेडिकल सुपरिटेन्डेन्ट (अस्पताल प्रमुख) बनेका छन् । उनका `खुसीहरुको वनबास´ कवितासङ्ग्रह, `कम्मरीदेखि कोभिड कहर´ हाडजोर्नी, नसा तथा स्वास्थ्यसम्बन्धि जानकारी र `लय छुटेको समय´ निबन्धसङ्ग्रह प्रकाशित छन् ।