सौराहा, ११ जेठ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन (Fiduciary Risk Management) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सौराहामा सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनको समन्वयमा आयोजित यो कार्यक्रम सहकारी संघसंस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले प्रशिक्षण दिएका थिए । प्रमुख अतिथिका रुपमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला र अतिथिको रूपमा कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनका अध्यक्ष मेघनाथ लामिछाने उपस्थित थिए ।
कार्यक्रममा रजिष्ट्रार पिताम्बर घिमिरेले भने – `सहकारी संघ संस्थाहरुले आफ्नो वित्तीय जोखिमलाई न्यूनिकरण गर्नका लागि प्रभावकारी रणनीति अपनाउनु जरुरी छ । यो कार्यक्रमले सहकारीलाई वित्तीय सुरक्षा र स्थायित्व प्राप्त गर्न महत्वपूर्ण योगदान दिनेछ ।´
प्रमुख प्रशिक्षक हरि पौडेलले प्रशिक्षणका क्रममा वित्तीय जोखिम व्यवस्थापनका विविध पक्ष तथा सूचकहरुका बारेमा जानकारी दिए । उनले भने- `सहकारी संस्थाहरुले आफ्नो वित्तीय जोखिम व्यवस्थापनमा आधुनिक सूचक, उपकरण र प्रविधिको प्रयोग गर्न आवश्यक छ, जसले गर्दा जोखिमलाई पहिचान र न्यूनीकरण गर्न सकियोस् ।´
प्रमुख अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले आफ्नो मन्तव्यमा सहकारीको जोखिम व्यवस्थापनमा पारदर्शिता र इमान्दारीता महत्त्वपूर्ण रहेको बताइन् । `सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई विश्वासमा लिएर काम गर्नुपर्दछ । सदस्यहरुको सहभागिता र समर्पणले मात्र सहकारीको वित्तीय जोखिम न्यूनीकरण सम्भव छ´, कोइरालाले बताइन् ।
कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) चितवनका अध्यक्ष मेघनाथ लामिछानेले सहकारी संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको बताए । `सहकारी संघ संस्थाहरुले एक आपसमा सहयोग र अनुभव साटासाट गरी वित्तीय जोखिमलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ´, उनले बताए ।
विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले कार्यक्रमको महत्व र सहकारी संघ संस्थाहरुमा वित्तीय जोखिम व्यवस्थापनको आवश्यकता प्रष्ट पारेका थिए । `सहकारी संस्थाहरुले दीर्घकालीन सफलता हासिल गर्न वित्तीय जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्दछ । यसका लागि निरन्तर शिक्षा, प्रशिक्षण र सुधारको आवश्यकता छ´, पौडेलले बताए ।
कार्यक्रममा सहभागीहरुले वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए । यो कार्यक्रमले सहकारी संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा चितवन र नवलपुरका ४३ सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।